पर्यटन/संस्कृति

कृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा पर्यटकका लागि आर्कषकको केन्द्र बन्दै

सुरुङ्गा । कृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखिएसँगै अर्जुनधारा नगरपालिकाभित्र आउने पर्यटकका लागि यो प्रतिमा आर्कषकको केन्द्र बनेको छ ।

नगरपालिकाले रु २५ लाख खर्च गर्दै महाभारतकालीन सम्झना झल्कने चारवटा घोडाको रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखेसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि यो आर्कषकको केन्द्रविन्दु बनेको हो । नगरपालिकाले जिल्लाकै पुरानो बजार शनिश्चरेलाई पर्यटकीय नगरीका रुपमा विकास गर्न भौतिक संरचना निर्माणको काम शुरु गरेको छ । शनिश्चरे बजारको चोकमा अहिले आर्कषक पार्क बनाउन शुरु गरिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

सरकारी स्वामित्वको यो जमिनमा यसअघि निर्माण गरिएका संरचना भत्काएर नगरपालिकाले आधुनिक पार्क बनाउन थालिएको नगरपालिकाका प्रमुख रानाले बताए । शनिबार लाग्ने हाटलाई वडा नम्बर ८ मा दुई बिगाहा जमिन किनेर स्थानान्तरण गरिएको उनले बताए । मुख्य सडकभन्दा अन्यत्र हाट लाग्न थालेपछि नगरपालिकाले चोकमा पार्क बनाउन शुरु गरेको हो ।

शनिश्चरे बजार नजिकै अर्जुनधारा जलेश्वर धाम रहेको छ । सोही धामको नामबाट नगरपालिकाको नाम पनि अर्जुनधारा रहन गएको बताइन्छ । धाममा वर्षेनी हजारौँ धार्मिक पर्यटक दर्शन तथा अवलोकन र अध्ययनका लागि आउने गरेका छन् । नगरपालिकाले अर्जुनधारा धाममा आउने पर्यटकलाई लक्षित गरेर महाभारतकालीन सभ्यता झल्किने मूर्ति सहितको पार्क निर्माण गरेसँगै नगरकै मुहार फेरिएको हो ।

द्वापर युगमा १२ वर्षको वनवासपछि एक वर्षका लागि गुप्तवास बसेका पाण्डवमध्ये अर्जुनले विराट राजाको गाई चराउँदै सो स्थानमा आएको धार्मिक किंवदन्ती छ । चराउँदै गरेका गाई तिर्खाएपछि अर्जुनले बाँण हानेर पानी निकालेको तथा आफूले चराएका गाईलाई त्यहाँ पानी खुवाएको भन्ने महाभारतकालीन मान्यताअनुसार त्यसस्थानको नाम अर्जुनधारा रहन गएको बताइन्छ ।

ठेकी बजारका रुपमा जिल्लामै ख्याति कमाएको शनिश्चरे बजारले विस्तारै फड्को मार्दै अहिले पर्यटकीय नगरीका रुपमा विकसित हुँदै गएको छ । अहिले काठका ठेकी विस्थापन हुने अवस्थामा छन् । नगरपालिकाले ठेकीको प्रतिमा, केही वर्ष अघिसम्म सामान ढुवानीमा प्रयोग गरिने बयलगाडा (गोरुगाडा), सहितको आकर्षक स्वागतद्वार निर्माण गर्ने योजना अघि सारेको छ ।