पु.समाचार

लागूऔषधसहित आठ जना पक्राउ

सिरहा । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स ८ प ७९८१, स ७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट लागूऔषध ब्राउन सुगर एक ग्राम ९० मिलिग्राम र गाँजा १० ग्राम ६७० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले लागूऔषधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । पक्राउ परेका समीरको साथबाट लागूऔषध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा–१६ खिरौनाबाट प्रतिबन्धित लागूऔषधसहित सिरहा–२ का १९ वर्षीय रामभरोसी मुखिया र कल्याणपुर नगरपालिका– २ का १८ वर्षीय अजितकुमार मुखियालाई पक्राउ गरेको छ । भारततिरबाट आउँदै गरेका दुवै जनालाई शंका लागेर जाँच गर्दा लागुऔषध नाइट्रोभेट २५ ट्याबलेट, नर्फिन एक एम्पुल, फेनारगन एक एम्पुल, डाइजेपाम एक एम्पुल र एमिल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।