राजनीति

ओली सरकारले जनताको अधिकार कटौती गरिरहे काँग्रेस टुलुटुलु हेरेर बस्दैनः सभापति देउवा

ललीतपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार नेपाली जनताका अधिकार खोस्ने अधिनायकबादी बाटोमा लागेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफूले चुनाव अगाडीदेखी नै कम्युनिष्टले चुनाव जितेमा मुलुकमा कोहीपनि चुं बोल्न नपाउने बताएको सम्झन स्मरण गराउँदै सरकारले त्यही कार्यको लागि लेख्न र बोल्न नपाउँनेगरी बिधेयकहरु ल्याएर संसदबाट पास गराउने षढ्यन्त्रमा लागेको बताए ।

उनले कम्युनिष्टहरुले लोकतन्त्र बिरुद्ध गर्ने कुनैपनि षढ्यन्त्र काँग्रेसले सफल हुन नदिने ठोकुवा गर्दै नेपाली जनताले गलत कार्य भएको थाहा पाएपछि त्यसको बिरुद्धमा उत्रनुको विकल्प नभएको बताएका छन् । वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा निम्त्याईएका सभापति देउवाले गणेशमान सिंह लोकतन्त्रका लागि धेरै नै योगदान दिनुभएको आशल सिपाही भएको र काँग्रेस कार्यकर्ताले कहिल्यै बिषन नहुने राजनेता भएको दाबी गरे ।

अदालत, सेना, प्रहरी, मानवअधिकार आयोग लगायतलाई नेकपा सरकारले आफ्नो भातृसंस्थाजस्तो बनाउन खोजेकोमा आपत्ती प्रकट गर्दै काँग्रेसले लोकतन्त्र र जनताको अधिकार कटौती भएको टुलुटुलु भएर हेर्न नसक्ने दाबी गरे । उनले लोकतन्त्र अपहरण भए कार्यकर्ताले देशब्यापी रुपमा सरकारबिरुद्ध उत्रनुपर्ने हुनसक्ने हुँदा त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । नेपाली काँग्रेसका केन्द्रीसय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, मोहन बस्नेत, नेता उदय शम्सेर राणा, एनपी साउद, शंकर भण्डारी, मदन अमात्य, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायतले ओली सरकारले पछिल्लो समयमा गरेका जनता बिरुद्धका कार्यहरुबिरुद्ध काँग्रेस एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।