अन्तर्राष्ट्रिय

टर्कीको सेना लिवियामा पुगिसकेको राष्ट्रपति एर्दोवानको भनाई

एजेन्सी । टर्कीले लिवियामा आफ्नो सेना पठाउन थालिसकिएको र उसले संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त त्रिपोलीस्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए) लाई सघाउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताएका छन् ।

एर्दोगानले अङ्कारास्थित बेस्टेपे नेशनल कङ्ग्रेस तथा सांस्कृतिक केन्द्रको वार्षिक मुल्याङ्कन सभामा भने, “हामीले सेनालाई लिवियातर्फ पठाइरहेका छौं । टर्कीको सेनाले लिवियामा रहेको वैधानिक सरकारलाई सहयोग गर्नेछ र लिवियामा स्थायी शान्ति तथा राजनीतिक स्थायित्वका लागि काम गर्नेछ । हामीले लिवियामा राजनीतिक, व्यापारिक, मानवीय, कूटनीतिक र सैन्य सुविधालगायतका सम्पूर्ण सेवालाई प्रत्याभूत गर्दै आफ्नो सम्पूर्ण उपायहरू परिचालन गर्नेछौँ ।”

सम्वोधनमा एर्दोगानले भने, “टर्कीले लिवियाको पूर्वी भूमध्यसागरीय क्षेत्रबाट सैन्य अभ्यास तथा अनुसन्धानलाई जीएनए सरकारसँगको सहमति अनुरूप छिट्टै काम शुरू गर्नेछ । शुरूमा टर्कीको ओरूक रैस युद्धक विमानले भौगोलिक अध्ययन गर्नेछ ।”

टर्कीले लिवियामा जारी द्वन्द्व अन्त्यका लागि राष्ट्रसंघद्वारा मान्यताप्राप्त सरकारसँग गत नोभेम्बरमा दुई सम्झौता गरेको छ । स्थल तथा जल सेनाका लागि सैन्य सहयोगमार्फत् लिवियाली संयुक्त सरकारका प्रधानमन्त्री फायज अल–साराजलाई सहयोग पु¥याउने टर्कीले जनाएको छ ।

अङ्काराले एक हप्ता पहिले देखि नै सैनिक समूहहरूलाई पठाउन शुरू गरेको छ । सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनका भरमा तत्कालिन शासक मोहमर गद्दाफीलाई पदच्युत गरी हत्या गरिएपछि लिवियामा जीएनएले त्रिपोली क्षेत्र हेर्दै आएको छ भने खालिफा हफ्तरद्वारा नेतृत्व गरिएको गद्दाफीको समर्थनमा रहेको लिवियाली राष्ट्रिय सेना (एलएनए)को सहयोगप्राप्त समूहहरूले पेट्रोलियम पदार्थका लागि सम्पन्न मानिने देशको पूर्वी क्षेत्रलाई हेर्दै आएको छ ।