समाचार

नेपालको गौरवपूर्ण इतिहासको महत्व दर्शाउन ‘एकीकरण मार्ग’ निर्माण गरिने

काठमाडौँ । आधुनिक नेपालको एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको छ । नेपाल एकीकरणका नायक तत्कालीन पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले एकीकरण मार्ग बनाउन लागिएको हो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको हो । एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाईं लडेका गढी एवं किल्ला सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढङ्गबाट संवद्र्धन र जर्गेना गर्ने लक्ष्य रहेको छ । सङ्घीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा नेपाली सेनाले एकीकरण मार्गको अवधारणा अघि बढाएको हो ।

पुर्खाको गौरवपूर्ण इतिहासको महत्व दर्शाउने र सोमार्फत राष्ट्रिय एकताको भावना जागृत गर्ने एवं सर्वसाधारणलाई समेत सम्मिलित गराई विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले पदमार्ग निर्माणको अवधारणा ल्याइएको सेनाले जनाएको छ । एकीकरण मार्गको आगामी फागुन अन्तिम साता काभ्रे जिल्लाबाट शुभारम्भ गरिनेछ । क्रमशः सातै प्रदेशका जिल्लामा एकीकरण मार्ग सञ्चालन गरिनेछ । चालू आवको नीति तथा कार्यक्रममा समावेश भएका सो पदमार्ग निर्माणका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन भई काम अघि बढेको सेनाले जनाएको छ ।

उक्त अवधारणलाई कार्यान्वयनमा लैजान विज्ञ तथा सरोकारवालाको राय सुझावका लागि नेपाली सेनाले आज मुख्यालयमा तीन दिवसीय ‘बृहत् एकीकरण पदमार्ग सेमिनार’ आयोजना ग¥यो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालीबीच देशभक्तिको भावना विकसित गराई राष्ट्रिय एकताको भावना सबल बनाउने तथा गौरवपूर्ण इतिहासको जगेर्ना गर्दै भविष्य देखाउने उद्देश्यका साथ एकीकरण पदमार्ग सञ्चालन गर्न लागिएको बताए ।

उनले भौतिक संरचनाको निर्माण तथा संरक्षणका साथै एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षणका लागि स्थानीयको सहभागितामा एकीकरण पदमार्ग सञ्चालन गरिने उल्लेख गरे ।

प्रधानसेनापति थापाले इतिहासको संवद्र्धन र प्रवद्र्धन गर्दै नेपाली जनमानसमा एकताको भावना सिर्जना गर्न तथा विविध सोच एकीकृत गरी राष्ट्रिय विकास र समृद्धिका लागि एकाकार हुन एकीकरण मार्ग महत्वपूर्ण प्रेरक तत्व हुनसक्ने बताए ।

राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधार राष्ट्रिय एकता भएको उल्लेख गर्दै उनले भने, “जन्मेदेखि स्वतन्त्र र स्वाधीन देश नेपाल संसारमा वीर गोर्खा र पूर्वजको पौरख, वीरता र देशभक्तिको अनुपम नमूना हो । पुर्खाको नासोलाई संरक्षण गर्दै विकास र समृद्धिलाई सार्थक बनाउने संयुक्त दायित्व पूरा गर्न हामी यसै दिशामा केन्द्रित छौँ ।”

प्रधानसेनापति थापाले समयक्रममा सङ्घीय गणतन्त्र नेपाल निर्माण भएको र यसको दिगोपनका लागि पृथ्वीनारायण शाहकालीन राष्ट्रिय चरित्रको विकास आजको आवश्यकता भएको उल्लेख गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको’ राष्ट्रिय सोचलाई वास्तविकतामा परिणत गर्ने कार्यमा पनि फरक सोचमा एकताको भावना सिर्जना गर्न यो महत्वपूर्ण आधार बन्नसक्ने बताए ।

राष्ट्रिय एकताको संरक्षण र संवद्र्धन गर्ने संवैधानिक जिम्मेवारीसमेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको यस कार्यक्रमको दायरा निकै फराकिलो भइसकेको जनाएको छ । जङ्गी अड्डाले विज्ञसहितको कार्यदल गठन गरी शुरु गरेको एकीकरण पदमार्गको निर्देशिका बनाई व्यवस्थितरुपमा अघि बढाइएको छ ।

प्रधानसेनापति थापाले एकीकरण मार्ग सरकारको नीति तथा कार्यक्रममा पर्नु र चालू आवको बजेटमा सम्बोधन भई सरोकारवाला निकायको सहकार्यमा कार्यान्वयनको चरणमा पुगेकाले मार्गको आवश्यकता र औचित्य पुष्टि भएको छ भने ।

देशमा पहिचान गरिएका ऐतिहासिक सम्पदाको संरक्षणका साथै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि स्वीकृत बजेटअनुरुप यो वर्ष सिन्धुलीगढी सङ्ग्रहालय, काभ्रेमा भ्युटावर, पाल्पामा शस्त्रअस्त्र कक्ष निर्माण गर्ने कार्य अघि बढिसकेको सेनाले जनाएको छ ।

नेपाल राष्ट्रको वास्तविक इतिहास उजागर गरी भविष्यको मार्गचित्र कोर्ने लक्ष्यसहित आयोजित तीन दिवसीय कार्यक्रमले एकीकरण मार्गको उद्देश्यलाई सार्थक तुल्याउन सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।

इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकीकरण र नेपाल राष्ट्रको निर्माणमा पुर्खाले देखाएका अदम्य शाहस र वीरता तथा नेपाली चरित्रलाई थप प्रवद्र्धन गर्दै भावी पुस्तालाई राष्ट्रप्रति उत्तरदायित्व बोध गराउन एकीकरण पदमार्गले महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।