पु.समाचार

लागूऔषध प्रयोगकर्ता युवायुवतीलाई उद्धार गरेर परामर्श दिनुपर्छ- आइजीपी खनाल

वीरगञ्ज । वीरगञ्जमा लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित नि:शुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ । शान्तिपुर्ण एवम सुरक्षित समाजका लागी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालमै पहिलो परामर्श केन्द्रको उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले देश कर्णधार युवा भएकोले युवाहरुलाई लागूऔषधको कुलतबाट बचाउन समाजको सक्रिय भूमिकाका आवश्कता रहेको बताए । उनले लागूऔषधको सेवन कर्ताको संख्या गुणत्मक रुपमा बढिरहेको चिन्ता व्यक्त गर्दै त्यसबाट महानगरपालिकाका युवाहरुलाई बचाउन आफूबाट हुने सबै सहयोग प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।

लागूऔषध प्रयोगकर्ताको पूर्नस्थापनाका लागि खुलेका केन्द्रहरुमा चर्कौ शुल्क रहेको चिन्ता व्यक्त गर्दै त्यहाँबाट प्रदान गरिने सेवा सहि नभएको नगर प्रमुखले बताए । च्याउ उम्रे जस्तै रिह्याब सेन्टर खुलेपनि चर्को शुल्क लिइरहेका कारण गरिब परिवारका युवाहरुलाई राख्न नसकिएको उनले बताए । नगर प्रमुख सरावगीले आगामि भविष्यमै प्रहरीसँग साझेदारी गर्दै गरिबका छोराछोरीलाई नि:शुल्क रिह्याबको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताए । उनले लागूऔषध सेवनकर्ताका अवस्था विकराल रहेकोमा चिन्ता व्यक्त गरे । उनले यो सामाजिक समस्या बन्दै गएकोले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको बताए । प्रहरी महानिरिक्षक खनालले विद्यालयका शिक्षक र अभिभावक लागूऔषध विरुद्ध खुलेर परामर्श केन्द्र आउनु पर्नेमा कुरामा जोड दिए ।

लागूऔषधले विकराल रुप लिइसकेको बताउँदै कुलतमा लागेका छोराछोरीलाई अभिभावक र शिक्षकहरुको सक्रिय सहभागीतामा परामर्शबाट मात्र न्युनिकरण गर्न सकिने महानिरिक्षक खनालको भनाइ रहेको थियो । महानिरीक्षक खनालले भने “ छोराछोरी लागूऔषध कारोबारी हुन भएन, लागूऔषध तस्कर हुनु भएन, लागूऔषध सेवन गर्ने व्यक्ति आफैं पीडित हुन् । उसलाई उद्दार गर्नुपर्छ । लाज मान्नुपर्ने अवस्था छैन, केटाकेटि कतै स्कुल जाँदा राम्रो गार्जेनसिप भएन होला, साथी संगतबाट कुलतमा परे होला । अब अभिभावकहरु मुख खोलेर आउनुपर्छ ।”

उनले लागूऔषध दुर्व्यसन बोर्डर क्षेत्रमा अझै विकराल समस्या बनेको बताउँदै त्यसको न्युनिकरण मात्र होइन निस्तेज गर्नुपर्ने बताए । उनले भने, “ आफूलाई नपर्दा खासै समस्या लाग्दैन, जुन घरमा केटाकेटी कुलतमा लागेका छन् । त्यो घरको अभिभावकसँग साक्षात्कार गर्नुहोस्, उनीहरु नर्कको जीवन बिताइरहेको अनुभूति हुन्छ । पहिला त छोराछोरी बिग्रिए कष्टडीमा राख्दे न भनेपछि राखिदिन्थे, तर अब मुलुकी संहिताले त्यसो गर्न पनि दिँदैन । अब सुधार्नु र सुध्रनुको विकल्प छैन । ”

कार्यक्रममा वीरगञ्ज महानगरपालिका र प्रहरीले संयुक्त रुपमा सञ्चालित परामर्श केन्द्रबाट पूनःजीवन दिने प्रहरीले जनाएको छ । चितवन, तनहुँ र पोखरा सिरहा, जनकपुरमा पनि परामर्श केन्द्र स्थापना गर्ने तयारी प्रहरीको छ । कार्यक्रममा पदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक प्रद्युमन कुमार कार्कि, लागुऔषध नियनत्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त कुमार, वीरगन्ज उद्धोग वाणिज्य सघं अध्यक्ष गोपाल केडिया, पत्रकार महासंघका पर्सा जिल्ला अध्यक्ष श्याम बन्जारा लगायतका व्यक्तिहरुले बोल्दै युवाहरुमा लागूऔषधको दुर्वेशन विकराल समस्याकारुपमा अगाडी आएकाले यसलाई समाप्त पार्न सबै पक्ष एक जुट हुन आवश्यक रहेको धारण व्यक्त गरे ।

ज्ञठ ब्ततबअजmभलतक