पु.समाचार

घाटमा जलाउन ठिक्क पारिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

मोरङ । मोरङ प्रहरीले दाहसंस्कार गर्न घाटमा पुर्‍याएको २८ वर्षीय प्रेमदेवी शाहको शव नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी मोरङको निर्देशनमा वडा प्रहरी कार्यालय हाटखोला विराटनगरले विराटनगर ८ सिंघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा शाहको शव अनुसन्धानकालागि आज(बिहीबार) दिउँसो नियन्त्रणमा लिएको हो । 

मृत महिलाको घाटीमा चोट देखिएपछि उनको हत्या भएको आशंकामा आफन्तले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले शवको मेडिकल परीक्षण गरेर अनुसन्धान गर्न शव प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्त्ता डिएसपी लोकदर्शन थापाले बताए । 

उनका अनुसार सँगै खाटमा राति सुतेकी श्रीमती खाटबाट लडेर मरेको भन्दै श्रीमान र आफन्तले दाहसंस्कार गराउन लगेका थिए । तर महिलाको घाँटीमा चोट भएकोले उनको मृत्यु स्वभाविक नभएको प्रहरीको आशंका छ ।  शवसँगै आफन्तलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय हाटखोलाले  घटनाको प्रारम्भीक अनुसन्धान गरिरहेको छ ।