अन्तर्राष्ट्रिय

रुसी प्रधानमन्त्री मेदभेदेवद्वारा राजीनामा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले संविधानमा व्यापक परिवर्तन गर्ने बताएसँगै त्यहाँका प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका छन । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएसँगै उनको नेतृत्वमा रहेको सरकार विघटन भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन ।   राष्ट्रपति पुटिनले गरेको प्रस्ताव पारित भएमा सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुनेछ । प्रस्ताव लागु भए संविधानका सबै धारा फेरिने र सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने भएकाले राजीनामा दिएको मेदभेदेवले बताएका छन् । लामो समय रुसको शक्तिमा रहनका लागि पुटीनले यस्तो प्रस्ताव गरेको विश्लेषण गरिएको छ ।

उनी २००८ -२०१२ सम्म रूसी संघका राष्ट्रपति थिए। २०१२ देखि उनी रूसका प्रधानमन्त्री भएका छन् । दोस्रो कार्यकाल समाप्त गरेपछि सन् २००८ मा क्रेमलिनबाट विदा भएका भ्लादिमिर पुटिनले चार वर्षपछि फेरि राष्ट्रपति पद सम्हालेका हुन्। पुटिनले चार वर्षसम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए। रुसी कानुन अनुसार लगातार दुई कार्यकालभन्दा धेरै राष्ट्रपतिको पद सम्हाल्न पाईदैन।