प्रवास

रहेनन् बेलायतका लागि नेपालका पुर्व राजदुत शर्मा

काठमाडौं । बेलायतका लागि नेपालका पुर्व राजदुतको मृत्यु भएको छ । लन्डनमा बस्दै आएका पुर्व राजदुत मुरारीरा जशर्माको हृदयघातका कारण मंगलबार निधन भएको हो ।

६८ वर्षिया शर्माको मंगलबार पौने ११ बजे निधन भएको आफन्त तथा दुतावासका पुर्व कर्मचारी अनिल अधिकारीले जानकारी दिएका छन् । मर्निङ वाकबाट आएर नास्ता खाएको केही समयमै उनको मृत्यु भएको जनाईएको छ ।

शर्मा श्रिमती संग लण्डनमा वस्दै आएका थिए भने उनका दुई छोरा चिकित्सक अमेरीकामा वस्दै आएका छन् । उनको स्थायी घर भने भोजपुरको लिङला हो ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरेका थिए ।

पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।