खेलकुद

सम्पूर्ण देशको ध्यान खेलकूद क्षेत्रप्रति आकर्षित भएको छ : मन्त्री विश्वकर्मा

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग)ले देशको गौरव बढाएको बताएका छन् । कास्कीको माछापुच्छ्रे  गाउँपालिका–४ लाहाचोकमा आजदेखि शुरु भएको ‘माछापुच्छ्रे त्रिशक्ति युनाइटेड कप’ गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले साग खेलकूदको सफलतासँगै नेपाल र नेपालीको प्रतिष्ठा, इज्जत र गरिमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भएको बताए ।

पछिल्लो समयमा खेलकूदबाट सिङ्गो देशको प्रतिष्ठा माथि उठेको महसुस भएको बताउँदै मन्त्री विश्वकर्माले भने, “सम्पूर्ण देशको ध्यान फेरि एक पटक खेलकूद क्षेत्रप्रति आकर्षित भएको छ । खेलकूदको विकासका लागि सबैतिरबाट चासो, अभिरुचि बढेर गएको छ ।”

खेल क्षेत्रको विकास र विस्तारका लागि सरकारले नयाँ ढङ्गबाट सोचेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले ७५३ वटै पालिकामा एक/एक वटा दीर्घकालीन महत्वको स्थानीय तहको रङ्गशाला बनाउने योजना बजेट कार्यक्रममा उल्लेख गरिएकाले यसै महिनाबाट काम शुरु हुने जानकारी दिए । मन्त्रालयले प्रत्येक खेलग्राम निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको जानकारीसमेत दिए ।