राजनीति

‘युद्धकालमा मरेकामध्ये ५ हजारको जिम्मा म लिन्छु, १२ हजार राजामहाराजाले मारेका हुन्- अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दश वर्ष चलेको सशस्त्र द्वन्द्वका क्रममा माओवादी पक्षबाट मारिएका पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् ।

उनले बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा बोल्दै युद्धका क्रममा भएका राम्रा, नराम्रका कामको जिम्मा आफू लिन तयार रहेको र नगरेको काम आफ्नो काँधमा नथोपर्न आग्रह समेत गरे ।

‘युद्धमा मरेकामध्ये पाँच हजारको जिम्मा लिन्छु,१२ हजार राजाले मारेका हुन्’ 

अध्यक्ष दाहालले युद्धकालमा मारिएका १७ हजार व्यक्तिमध्ये १२ हजार राजामहाराजाहरूले मारेको बताएका छन् । “युद्धकालमा भएका राम्रा, नराम्रा कामको सबै जिम्मा लिन्छु । मारिएको १७ हजारमध्ये तपाईंहरूले भन्नुहुन्छ भने पाँच हजारजतिको जिम्मा दिनुहोला । १२ हजार हिजोका राजा महाराजाहरूले मारेका हुन्,” उनले माघी महात्सवमा सहभागी हुन आएकालाई सम्बोधन गर्दै भने ।

उनले राजाले मारेको १२ हजारको कुरा नगर्ने र राज्यले मारेको पनि आफ्नै थाप्लोमा हाल्ने हो भने न्याय नहुने बताएका छन् । उनले जेलमा रहेका रेशम चौधरी छिट्टै छुट्ने दाबी पनि गरे । पार्टी र सरकारसँग यस विषयमा पटकपटक संवाद भइरहेको बताउFदै उनले थारू अगुवाहरूलाई आश्वस्त पारे, “हेर्नुहोला रेशम छिट्टै छुट्छन् ।”

अध्यक्ष दाहालले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताए । माघी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विविधताभित्रको एकताले राष्ट्रियतालाई बलियो बनाउने बताउँदै मकर सङ्क्रान्तिलाई सबैले विभिन्न रुपबाट स्वीकारेको भए पनि थारु जातिले अभिभावक चुन्ने, वर्षदिनभरका लागि कार्ययोजना अनुमोदन गर्ने विशिष्ट परम्परा रहेको चर्चा गरे ।

 लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने क्रममा थारु समुदायको त्याग र सहयोग उल्लेखनीय रहेको बताउँदै अध्यक्ष दाहालले राजनीतिक आस्थाका आधारमा बन्दी भएका सबैलाई छुटाइने प्रतिबद्धता व्यक्त गरे ।