लुम्बिनी

चर्चरे–कोलडाँडा पुल बन्दै

पाल्पा । पाल्पा–बुटबल सडकखण्डको चर्चरेबाट कोलडाँडा जोडने पक्कीको काम शुरु गरिएको छ । भ्याटसहित रु. सात करोड ९९ लाखको लागतमा सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिकाको चर्चरेको तिनाउ खोलामा पुलको काम शुरु भएपछि कोलडाँडा र विष्णुडाँडालगायतका क्षेत्रका स्थानीयबासिन्दा खुसी बनेका छन् ।

पुलको लम्वाई ६२.९५ मिटर, चौडाइ ११ मिटरको रहेको छ । चर्चरेमा पुल बनेपछि कोलडाँडा र विस्नुडाँडालगायतका बस्तीमा यातायातको सहज पहुँच पुग्ने छ । चौविस महिनामा निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । आगामी २०७८ मङ्सिरमा पुलको निर्माण पुरा हुने छ ।

चर्चरेमा पुल बनेपछि कोलडाँडा, विस्नुडाँडालगायतका बस्तीमा यातायातको सहज पहुँच पुग्ने छ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुलाराम घर्तीले तिनाउ खोलामा पुल बनेपछि माडीलाई कोलडाँडासँग जोड्न सहज हुने बताए । यातायातको पहुँच विस्तारपछि गाउँमा घरवास कार्यक्रम सञ्चालन गरी स्थानीयबासिन्दा रोजगार सिर्जना गरिने उनले बताए ।

अर्का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले चर्चरेको पुल निर्माणपछि कोलडाँडामा उत्पादित बहुमुल्य जडीबुटीले बजार पाउने बताए । माडी क्षेत्रका कृषिजन्य उत्पादित सामग्री बिक्रीवितरण गरी आर्थिक क्रियाकलाप बढ्ने उनको भनाइ छ ।