सुदूरपश्चिम

अछाम जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गरिँदै

अछाम । अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन् ।

साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ । छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ । मङ्गलसेन नगरपालिकाले नगरका १४ वडा तथा चौरपाटी गाउँपालिकाले सात वडामा छाउगोठ भत्काउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णयअनुसार माघ मसान्तभित्र सबै वडा, फागुन १५ भित्र नगर र मसान्तसम्म जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न अभियानका साथ लागि परेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हालसम्म एक हजार ८५८ छाउपडी गोठ भत्काइएको छ ।

कतिपय ठाउँमा प्रहरीको टोली खटेर भत्काउने गरेकाले प्रहरीलाई तथ्याङ्क जानकारी हुने गरेको र कतिपयले स्वतःस्फुर्त आफैँ भत्काउने गरेकाले छाउपडी गोठ भत्केको तथ्याङ्क बढ्न सक्ने प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिएका छन् । यसैबिच स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने छ भने ।

भत्काएका छाउगोठ पुनःनिर्माण गरिए वडा कार्यालयबाट उपलब्ध सुविधा दिन रोक लगाइने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर जप्रेलले बताए । “यसअघि पनि हामीले छाउगोठ भत्काएका थियौँ ।

” वडाध्यक्ष जप्रेलले भने, “केही स्थानीयले फेरी निर्माण गरेको पनि भेटियो ।” त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटामा पनि सोमबारदेखि स्थानीय तह र प्रहरी प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिएका छन् ।