पर्यटन/संस्कृति

घ्यू, चाकु, तरुल लगायतका परिकार खाई आज माघे संक्रान्ति मनाइँदै

काठमाडौं । आज माघे संक्रान्ति, देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डू र तरुल खाई यो पर्व मनाइँदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।

‘मकर सक्रान्ति’ देखि दिन लामो हुने र रात छोटो हुँदै जान्छ । लड्डु तथा घिउ–चाकु सक्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हु’ पनि भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागर लगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्ध लगायतका कार्य गर्नेहरूको ठूलो भीड लाग्छ ।

भविष्य पुराण, विष्णु वचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।

आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियम लगायत पौष्टिक तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । माघे संक्रान्तिको दिन भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपंकर बुद्धको पूजा गर्ने गरिन्छ । साथै दाङ लगएत चौधरि समुदायमा यो पर्वलाई धुमधामका साथ मनाईने गरिन्छ ।