प्रदेश 1

लिखित प्रतिबद्धतापछि सप्तरीमा १५ दिनदेखि जारी धर्ना स्थगित

लहान । प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षले माघ १० भित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा १५ दिनदेखि जारी धर्ना आज साँझदेखि स्थगन भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्ण र सम्पूर्ण वडाध्यक्षहरुले आन्दोलनरत पक्षले उठाएको १४ बूँदे माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका सङ्घर्ष समितिका संयोजक विनोद यादवले जानकारी दिए ।

गाउँ परिषद् बैठक अविलम्ब बस्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामको भुक्तानी गर्नुपर्ने तथा गाउँपालिकामा भएको अनियमितताको छानबिन हुनुपर्नेलगायत माग सङ्घर्ष समितिले राखेको थियो ।