पर्यटन/संस्कृति

चैनपुर नगरपालिकाले मात्र एक प्रतिशत पर्यटक भित्र्याउने लक्ष्य

सङ्खुवासभा । नेपाल भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखी कार्यक्रम अगाडि बढाइरहेका बेला चैनपुर नगरपालिकाले मात्र एक प्रतिशत पर्यटक भित्र्याउने लक्ष्य राखेर विभिन्न पर्यटनसम्बन्धी गतिविधिका कार्यक्रम सञ् चालन गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्र र स्थलको अध्ययन र अवलोकन गर्दै नगरपालिकामा मात्र २० हजार पर्यटक भित्र्याउने तयारीका साथ नगरका पर्यटकीयस्थलसम्म पुग्ने सुविधा विस्तारका क्रममा नगरपालिकाको कार्यालय लागिपरेको नगर प्रमुख भरतकुमार खत्रीले जानकारी दिए । उनले चैनपुरभित्रका पर्यटकीयस्थलको भ्रमणका लागि धेरैभन्दा धेरै पर्यटक जिल्ला हुँदै नगरका विभिन्न ठाउँमा भित्र्याउने गरी तयारी शुरु गरिएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको उत्कृष्ट एक सय गन्तव्यभित्र नगरपालिकाको चैनपुर बजार नजीक फँलाटेस्थित बालेश्वर महादेव गुफा क्षेत्रमा सङ्घीय सरकारले भौतिक पूर्वाधारको काम गरेको छ । गुफासम्म जान आकर्षक सिँढी निर्माण भएको छ । यसैगरी सो स्थललाई पर्यटकको आकर्षण गन्तव्य बनाउनका लागि विभिन्न भौतिक संरचना मर्मत तथा स्तरोन्नति गरिएको छ । बालेश्वर क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट रु ७५ लाख प्राप्त भएको र त्यसमा गाउँपालिकाले रु २५ लाख थपेर रु एक करोडको लागतमा भौतिक संरचना निर्माण तथा स्तरोन्नति गरेको चैनपुर नगर प्रमुख खत्रीले जानकारी दिए । उक्त बजेटले बालेश्वर क्षेत्र जानका लागि पदमार्गको निर्माण, घेराबारा, रङ्गरोगनलगायत कार्य गरिएको छ । यसैगरी नगरपालिकाले विशेष गरी धार्मिक पर्यटकको सङ्ख्या बढाउने योजना बनाएको छ ।

बालेश्वर महादेवसँगै सिद्धकाली मन्दिर पनि नगरपालिकाभित्र पर्ने विश्वकै प्रसिद्ध धार्मिकस्थल हो । सिद्धकालीको दर्शन गर्न आउनेहरुको सङ्ख्यामा पनि वृद्धि गरेर सन् २०२० मा २० हजार बढी पर्यटक भित्र्याउने योजना बनाइएको नगरप्रमुख खत्रीको भनाइ छ । सतीदेवीको दाहिने आँखा पतन भएको जनविश्वास रहेको सो धार्मिक शक्तिपीठ सिद्धकालीको मन्दिरमा दर्शन गर्न दैनिकजसो सयौँ तीर्थयात्री देशविदेशबाट तीर्थव्रत गर्न आउँछन् । सिद्धकाली मन्दिर क्षेत्रसम्म पुग्नका लागि नगरपालिकाको पहलमा धुलेसडक बाह्रै महिना चल्न सक्ने भएको नगरप्रमुख खत्रीले बताए । सतीदेवीको देब्रे आँखा पतन भएको भनिएको भारतको नैनताल र सिद्धकालीबीच सम्बन्ध बढाएर नेपाल भारतबीचको दौत्य सम्बन्धलाई धार्मिक रुपबाट विकास गर्दै यस क्षेत्रमा भारतीय पर्यटकको सङ्ख्यालाई उल्लेख्य वृद्धि गराउन नगरपालिका लागिपरेको समेत नगर प्रमुख खत्रीले बताए ।

चैनपुर-१ को गुफापोखरी पनि धार्मिक र पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यको रुपमा रहेको छ । प्राकृतिक रुपले सुन्दर गुफापोखरी पुग्नका लागि नगरपालिकाको वार्षिक बजेटबाट सडकको स्तरवृद्धि गरिएको छ । सडकको स्तरवृद्धिसँगै चैनपुर बजारबाट डेढ घण्टाभित्र नै गुफापोखरी पुग्न सकिन्छ । गुफा क्षेत्रमा रङ्गीबिरङ्गी २८ प्रजातिका लालीगुराँस हेर्न चैतवैशाखमा पर्यटकको घुइँचो लाग्छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र मकालु हिमाल जाने पदमार्गसमेत भएको हुँदा त्यस क्षेत्रमा उपयुक्त याममा दिनहुँ पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको वडा नं १ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको तातोपानी मुहान पनि जिल्लाको नुनढाकीमै छ । तातोपानी धाराको जलले स्नान गर्दा विभिन्न प्रकारका रोगको उपचार हुने जनविश्वास छ । यसरी नै चैनपुरकै पर्यटकीय गन्तव्यका रुपमा बानेश्वर डाँडालाई लिने गरिन्छ । यस क्षेत्रबाट देखिने मनमोहक दृश्यले सबैको मन लोभ्याउने गर्छ । त्यस क्षेत्रमा विशेष गरी युवा एकान्तपनसमेत पाउने र छुट्टै आनन्दका साथ घुमफिर गर्न पाउने उद्देश्य बोकेर आउने गर्छन् । उसो त बानेश्वर क्षेत्रमा नै शिवालय मन्दिरसमेत रहेकाले पुण्य प्राप्तिका लागिसमेत भक्तजन आउँछन् ।

यस क्षेत्रको विकास गर्न वडा नं ८ र १० का जनप्रतिनिधिले समेत सरोकार पक्षलाई घच्घच्याइ रहेको चैनपुर-८ का वडाध्यक्ष भरत खड्काले जानकारी दिए । यसरी नै चैनपुर नगरक्षेत्रका अन्य आकर्षक पर्यटकीय गन्तव्यमा दारेगौँडाको ५२ खुड्किला, ऐतिहासिक महत्व बोकेको मेजरपाटी, भीरेश्वर गुफा¸ ताङ्लेवाको झरनालगायत क्षेत्र पनि छन् । पर्यटकको आकर्षण तथा जानकारीका लागि पुस्तिका प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा आउने पर्यटकको सहजताका लागि नगरस्तरीय सहायता कक्ष राख्ने र सम्पूर्ण लगत सङ्कलनसमेत गर्ने तयारी रहेको नगर प्रमुख खत्रीले जानकारी दिए । नगरपालिकाको केन्द्र चैनपुर बजार तुम्लिङटार विमानस्थलबाट ३० मिनेटको मोटरबाटो दूरीमा छ । चैनपुर नगरबाट धरान, हिले र वसन्तपुर हुँदै सडक मार्गबाट समेत पर्यटक आउन जान सक्नेछन् । यसैगरी सडक यातायातबाट नै हिलेबाट लेगुवा हुँदै खराङ चैनपुर आउन सकिन्छ । यसरी नै चैनपुरको जिरोप्वाइन्टबाट नगरका सबै आकर्षक गन्तव्यमा पुग्न सकिने हुँदा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई चैनपुर नगरपालिकाबाट मात्र २० हजारमाथि पर्यटक भित्र्याउने जिकिर गरिएको हो ।