पु.समाचार

माघेसंक्रान्तिको दिनदेखि बादल र वर्षा, पश्चिमी वायु पुन: सक्रिय

काठमाडौं । आज(पौष मसान्त)को दिन देशभरको मौसम अलिक सफा देखिएता पनि  भोलि (माघेसंक्रान्ति) देखि फेरि पश्चिमी वायु नेपाल पस्ने भएको छ ।

बुधबार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखाको अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

‘यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानमा भारी हिमपातको सम्भावना छ,’ मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ ‘ मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोही भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत छ ।’

देशको पूर्वी भु-भागमा बिहिबार आंशिकदेखि सामान्य बदली भई १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महशाखाले जनाएको छ ।