आर्थिक

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारकालागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति रु. बीस हजार (२०,०००)सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा सानिमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत  भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।