राजनीति

विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुँदै छः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताएका छन् । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उनले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गरे ।

सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गरेको थियो । पूर्वप्रधानमन्त्री दाहालको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिए । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।