राजनीति

तुम्बाहाङ्फे सभामुख बन्न सक्नुहुन्छ तर पहिले उहाँले उपसभामुखबाट राजीनामा दिनुपर्छ- प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सुझाएका छन् । आज(मंगलबार) लमजुङमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

प्रवक्ता शर्माले उपसभामुख तुम्बाहाङ्फेको दावी भने सही रहेको बताएका छन् । ‘उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ, उनले भने, ‘सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ । उहाँ नै हुन सक्नु होला तर उहाँ उपसभामुख भएर त हुन्न । उहाँले राजीनामा दिएपछि पार्टीले निर्णय गर्छ ।’

पत्रकारहरुसँग कुराकानीको क्रममा प्रवक्ता श्रेष्ठले तुम्बाहाङ्फे पार्टीबाट सभामुखको सशक्त दाबेदार भएको प्रष्ट पारे। ‘पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ । तर हाम्रो पार्टीले नपाउने स्थिति बनाउनु पार्टीको हित चाहनेलाई उपयुक्त कुरा होइन’ श्रेष्ठले भने ।

राष्ट्रिय सभाको आगामी माघ ९ गते हुने निर्वाचनको उम्मेद्वार रहेका श्रेष्ठ हाल स्थानीय तहका प्रमुख/उपप्रमुखसँग भोट माग्न गण्डकी प्रदेशका जिल्लाहरुको भ्रमणमा छन् ।