साहित्य

मन पर्छ

-सुरेन्द्र सिटौला                                                                                                                          – कविता     

                                                                         
पैसामा सुख जोख्ने धनाढ्य देखेर
गरिबीमा हुर्केको निसर्त सुख संग
उसको स्वअर्जित पसिनाको भाउ
सोध्न मन पर्छ ।

चोरीको बात लागे पनि
लिलाम बडाबडमा हारे पनि
उसको थोरै खुसी
सुटुक्क चोर्न मन लाग्छ ।

सन्यासिको सच्चिदानन्दले
धनाड्यको कुस्तिवाज लाई
पुर्लुक्कै लडाएको देखेर
अलौकिक आनन्दको सन्यासी दरबार
कहिले काहिँ फोर्न मन पर्छ ।

जनताको सार्बभौम स्वाभिमान सग
सम्मानको रापले बोझिल
राजनेताको अभिमान
अन्त्यमा सधै हारेको देखेर
नेताको मान सग मलाइ
अभिमानको भाउ सोध्न मन पर्छ ।

सत्ता सग हारेको
श्रष्ठाको स्वाभिमानी आनन्दमा
स्वतन्त्रता मुस्कुराउने
कारण सोध्न मन पर्छ ।

अपराजित खुसीको स्वाभिमान बस्ने
जनताको गाउँ सोध्न मन पर्छ ।

गौथलीको कारिगरीमा रमाउदै
कोइलीले गीत गाउदा
ढुकुरको संगीत सुनेर
मयुर जस्तै
छम छमी नाच्न मन पर्छ ।

बैंक ब्यालेन्स र भिसा बिहिन
बिन्दासी चरा हरुले
बिना रोक टोक
बिश्व भ्रमण गरेको देखेर
चराको बिन्दासी सग
नाता गास्न मन पर्छ ।

कहिलेकाही
मान्छेको जात बिर्सिएर
अद्वैत शृष्ठीमा
चरा सगै हास्न मन पर्छ ।

लगानीको पैसा
नउठ्ने चिन्ताको कैदखानामा
निस्सासिदो साहु लाइ
ॠण बुझाउन जाँदै गरेको
आसामीको पसिना सग
खुसीको परिभाषा सोध्न मन पर्छ ।

आधुनिक बिश्वमा
आणबिक हतियार हरुले
मानबताको परिभाषा लेख्ने
मान्छेको पाठशाला मन नपरेर
मान्छे रमाउने
विवेकको धर्मशाला खोज्न मनपर्छ ।

अब द्वन्द्व ब्युझाउने पाठशाला होइन
हर्ष बाड्ने
बुद्धको पुरानो गुम्बा रोज्न मन पर्छ ।

आज भोलि किन किन मलाइ
समयले चोरेको
बालपनको मेरो खुसी
चराले जस्तै
मेरै बर्तमानमा खोज्न मन पर्छ ।