अन्तर्राष्ट्रिय

श्रीलङ्का सरकारद्वारा गरीबलक्षित बृहत् आवास कार्यक्रम अनुमोदन

एजेन्सी । श्रीलङ्काको सरकारले ग्रामिणस्तरमा आवास नहुनेका लागि लक्षित गरी ल्याएको बृहत् आवास कार्यक्रमलाई पारित गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मन्त्रीपरिषद्ले घरबिहीन तथा अति गरिब नागरिकलाई आवासको पहुँच बढाउने राष्ट्रिय योजनाको एक भागको रूपमा चार करोड ६५ लाख अमेरिकी डलर बराबर योजना प्रस्तावलाई सोमबार अनुमोदन गरेको हो ।

प्रधानमन्त्री महिन्दा राजापाक्ष र सहरी विकास, खानेपानी तथा आवास सुविधा मन्त्रालयको प्रस्तावमा देशको १४ हजार २२ स्थानीय निकाय घरबिहीन परिवारलाई आवास निर्माण गरिदिने योजना रहेको छ । कार्यक्रम अन्तर्गत गरिब परिवारलाई भैरहेको घर मर्मत गर्न वा पुनः निर्माण गर्नका लागि प्रति परिवार तीन हजार ३१७ अमेरिकी डलर उपलब्ध गराइनेछ ।

‘प्रत्येक गाउँका लागि घर, देशको भविष्य’ कार्यक्रम अन्तर्गत सरकारले पहिलो चरणको कार्यक्रम अघि बढाउने निर्णय गरेको हो । यस कार्यक्रमले सबै नागरिकलाई आरामदायी घरको सहज पहुँच पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रम ग्रामिण राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र नागरिक संगठन सम्मिलित सामुदायिक समितिले यसवर्ष राज्यभर कार्यान्वयनमा लानेछ ।