राजनीति

काँग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले पनि हराउन सक्दैनः महामन्त्री डा कोइराला

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताए ।

उनले भने, “नेपाली काँग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो ।” उनले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप लगाए । गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उनले टिप्पणी गरे ।

उनले राष्ट्र र पार्टीका लागि देउवतासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताए ।

महामन्त्री कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा नेपाली काँग्रेसका लाखौंँ सफल कार्यकर्ता रहेका र उनीहरुलाई सही ढङ्गले परिचालन गर्न सक्षम नेतृत्व आवश्यक भएकामा जोड दिए । उनले पार्टीमा आन्तरिक समस्या भएका कारणले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान अनुसारको काम नगरेको आरोप लगाए ।