प्रदेश 2

एकै दिनमा १० फरार प्रतिवादी पक्राउ

सप्तरी । फरार प्रतिवादी पक्राउलाई अभियानका रूपमा लिएको प्रहरीले आज एकै दिन १० पक्राउ गरेको छ । एक वर्षे कार्ययोजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानका रूपमा लिएको प्रहरीले धमाधम पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक साताअघि मात्र विभिन्न मुद्दामा फरार १७ प्रतिवादीलाई पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७६/७७ को छ महिनाको अवधिमा ५२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्लेरसाई बताए  ।

बन्दुकसहित दुई पक्राउ

हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट सशस्त्र प्रहरीले आज भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । वडा नं– १ गोलपारस्थित जङ्गलमा शिकार खेलिरहेका कञ्चनरुप नगरपालिका–१ मलकोर बस्ने ४० वर्षीय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका– १० कमलपुरका ३० वर्षीय रवीन तमाङ पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई एक थान भरुवा बन्दुक, एक मेटासिन बारुद र २५ साइकल बलसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका दुवै जनालाई अवैध हतियारसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल भारदह सुरक्षा वेस क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक बैधनाथ झाले बताए ।