प्रदेश 1

नक्कली प्रहरी बनेर व्यापारीलाई ठगी गर्ने पक्राउ

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नं ४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने २० वर्षीय जीवनदास रहेका छन् ।

उनीहरुले आलामलाई आफूहरु प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरका ‘सिआइवी’ प्रहरी भएको भन्दै आज दिउँसो १२ः०० बजे रु सात हजार लुटेका थिए । आलामले तत्काल शङ्का लागि इलाका प्रहरी कार्यालय राजगढमा खबर गरेका थिए ।

खबर पाउने वित्तिकै तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।