पु.समाचार

बालुवाटारमा बस्ने व्यक्तिबाट मलाई ज्यान मार्ने धम्की आयो- भीम रावल

काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले आफ्नो ज्यान मार्ने धम्की बालुवाटारमा बस्ने व्यक्तिबाट आएको दाबी समेत गरेका छन्। ।

‘बालुवाटार बस्ने व्यक्तिबाट मलाई ज्यानको समेत धम्की दिइएको छ’ नेता रावलले भने, ‘लेडि डायनाले जसरी ज्यान गुमाउनु पर्यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो ।’ बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो । यद्दपी उनले कस्ले धम्की दियो भन्ने कुरा खुलाएका छैनन् । 

नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए ।

स्ता धम्कीबाट आफू नडराउने भन्दै नेता रावलले भने,‘म त्यसबाट डराउँदिन । र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।’

राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र समर्थन भन्दा धम्की र विरोध हुन दुःखद् भएको बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आमा समान मान्छौं यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ, अरुको अस्तित्व अस्थायी छ ।’

अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारेमा आफूले कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्कीको रुपमा उठेको उनको आरोप छ ।

आफ्नै दलको सरकार र पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा ज्यान मार्ने धम्की आएको गम्भीर आरोपको बालुवाटारले भने खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता भीम रावलले चर्चामा आउनका लागि झूठ बोलेको आरोप लगाएका छन् ।