पर्यटन/संस्कृति

पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी सिर्जना गर्छु: मन्त्री भट्टराई

सिन्धुली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी सिर्जना गरिने बताएका छन् । सिन्धुलीगढीमा आज प्रेस सङ्गठन नेपाल सिन्धुली शाखाले गरेको पत्रकार सम्मेलनमा उनले हरेक वर्ष कम्तीमा पनि दुई लाखलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले भ्रमण वर्ष २०२० शुरुआत गरेको बताए ।

उनले भने, “करिव ४४ डलर प्रतिदिन एउटा पर्यटकले खर्च गर्दछ, यसलाई बढाएर ८० डलर बनाइने लक्ष्य रहेको र नयाँ नया पर्यटकीय स्गलको पहिचान र पर्यटकका लागि गन्तव्य विकास गर्ने अभियानका साथ भ्रमण वर्ष मनाइरहेका छौँ, नयाँ पर्यटकीयस्थलका रुपमा नेपालको पहिचानका रुपमा आउनेछन्, नयाँ गन्तव्यमा सिन्धुलीगढी पनि हो र यसलाई पर्यटकको गन्तव्यका रुपमा विकास गर्न निरन्तर लागि परेका छौँ ।” साथै नेपालका पदमार्ग बनाउनेसमेत सङ्कल्प रहेको उनले बताए । उनले भने, “सिन्धुलीगढी, हरिहरपुरगढी जोड्ने पदमार्गजस्ता देशैभर पदमार्ग बनाउने र यसले आन्तरिक पर्यटक बढाउने नै छ र बाह्य पर्यटक भित्र्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको छ ।”

भ्रमण वर्ष २०२० ले आत्मबल बढाउने, मनोविज्ञान बढाउने छ र एकदशक नेपालको पर्यटनका निम्ति काम गर्नुपर्ने उनले बताए । “यहाँका पर्यटकीयस्थलको खोजी, संरक्षण, विमानस्थलको निर्माण, सडक यातायातको स्तरोन्नति गर्दै पर्यटन मैत्री बनाउनुपर्नेछ”, पत्रकार सम्मेलनमा उनले भने, “आम नेपालीलाई पर्यटनका बारेमा जागरुप पैदा गर्नुपर्नेछ र २०२० नेपालको पर्यटन क्षेत्रका लागि आधार वर्षका रुपमा रहनेछ । यसमा सरकारले निजी क्षेत्रले लगानी गर्ने र अन्तरराष्ट्रिय लगानीसमेत जुट्ने अवस्था छ ।” काठमाडौँको नजिकका क्षेत्रबाट नजिक रहेकाले जिल्लावासीले यसको भरपुर प्रयोग गर्न जिल्लाका बासिन्दालाई आग्रह गरे ।

सातै प्रदेशबाट शुरु भएको भ्रमण वर्ष २०२० मा ८० भन्दाबढी देशमा त प्रचारप्रसार भरहेको र विश्वभर अहिले प्रचारप्रसार भइरहेकाले २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने यहाँले उल्लेख गरे ।