पु.समाचार

मोटरसाइकलको लाइसेन्स लिन अब १८ वर्ष पुग्नुपर्ने..

काठमाडौं ।  मोटरसाइकल र स्कुटरको लाइसेन्सको आवेदन दिनको लागि अब १८ वर्ष पुग्नुपर्ने भएको छ । दुई पांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिन पाउने उमेर हद बढाउने तयारी थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

छलफलको क्रममा रहेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र लिने उमेर हद बढाउन लागिएको हो । हालकाे यातायात व्यवस्था ऐनमा दुई पांग्रे सवारीसाधनको लागि १६ वर्ष पुरा हुनुपर्ने व्यवस्था छ ।

दुई पांग्रे सवारी साधनको लागि १८ वर्ष पुरा हुनुपर्ने विषयमा छलफल चलिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘चालकहरु परिपक्क भए भने दुर्घटना कम हुन्छ भन्ने हो । यो विषयमा हामी विज्ञहरूसँग छलफलकै क्रममा छौ,’ हमालले भने । 

हाल विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको बारेमा प्रदेश सरकार र विभागका पुर्व महानिर्देशक तथा विज्ञहरूसँग सुझाव लिइरहेको छ।