शिक्षा

इक्यानको दोस्रो कार्यकालको लागि अध्यक्षमा पाण्डे चयन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले प्रकाश पाण्डेलाई  अध्यक्षमा  सर्वसम्मत चयन गरेको छ । आज(आइतबार) बिहान सम्पन्न १४ औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनदेखि २०७४ चैतसम्म अध्यक्ष थिए। इक्यानको वर्तमान कार्यसमिति वैसाखसम्म भएता पनि पुषमा नै अधिवेशन भएको हो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले इक्यानका असन्तुष्ट पक्षलाई समेटेर शिक्षा नीति परिवर्तन गरिने बताएका छन् । सबै पक्षसँग सल्लाह सुझाव लिएर नै इक्यानलाई प्रभावकारी बनाउने उनले बताए । ‘समाज जस्तो हुन्छ । हाम्रो क्षेत्र पनि त्यस्तै हुन्छ । केही विसंगति छ । सुधार हुनुपर्छ । सुधारका काम पनि गरेका छौं । आगामी दिनमा पनि गछौं,’ उनले भने । शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउने काम राज्यको रहेको उनले बताए ।

यसैगरी महासचिवमा दीपकराज भुसाल, उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।

आफ्नो कार्यकालमा शिक्षा नीति परिवर्तन गराउन लाग्ने उनले बताए । ‘भर्खरै नयाँ शिक्षा नीति आएको छ । कन्सल्टेन्सीलाई नबुझी नीति बनाइएको छ । शिक्षा नीति परिवर्तन अहिलेको मुख्य एजेन्डा हो,’ उनले भने ।

सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका छन्।

इक्यानमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । १८ सदस्य निर्वाचनबाट, दुई जना मनोनीत र निवर्तमान अध्यक्ष स्वतः सदस्य हुने व्यवस्था छ ।