पु.समाचार

कांग्रेसले माग्यो जवाफ- ‘तीन/तीन महिनादेखि सभामुखको पद रिक्त राख्नुको कारण के हो ?

काठमाडौं । नेपाली काँग्रेसले संसद्लाई दलगत अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै सत्तारुढ दल नेकपाको आलोचना गरेका छन् ।

‘प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको विषय दुखद छ । नेपाली काँग्रेसले यसलाई सरकार र सत्तारुढ नेकपाको सांसदप्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्त्व हुने भन्दै ३ महिना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाएकोमा सरकारको आलोचना गरेको हो । सत्तारुढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सत्तापक्षका कारण महिना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाली काँग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिँदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई सचेत गराइएको छ ।