पु.समाचार

यसरी मनाइयो पृथ्वी जयन्ती, राष्ट्रनिर्माताप्रति १०८ किलोको पुष्पहार अर्पण

काठमाडौं । आधुनिक नेपालको एकीकरणमा पुर्याएका महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ ।

दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि प्रकट गरे ।

सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले उनीप्रति सम्मान अर्पण गरेको थियो । राष्ट्रनिर्माताको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो ।

वि.सं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । यसअघि प्रज्ञा–प्रतिष्ठानबाट शाहको ठूलो तस्बीर बग्गीमा राखिएको बाजागाजासहितको पदयात्रा शहरका विभिन्न भागको परिक्रमा गरी शालिकस्थल आइपुगेको थियो ।

राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, तीनै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, पूर्वप्रशासक एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू सिंहदरबार पश्चिम मूलद्वार पुगेका थिए । उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न सङ्घसंस्थाका बेग्लाबेग्लै झाँकी र बाजागाजासहितको पदयात्रा पनि सिंहदरबारनिर आएको थियो ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट दिइएको ‘दिव्योपदेश’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । सो अवसरमा कायममुकायम प्रधानसेनापति शरद गिरीलगायत अन्य सुरक्षा निकायका उच्चअधिकृतले पनि राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।

यसअघि ठकुरी सेवा समाज, ग्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायत सङ्घसंस्थाको बाजागाजासहितको पदयात्रामा सहभागीले शाहको शालिकमा माल्यार्पण गरेका थिए । पदयात्राका सहभागीले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ’, ‘पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस्’ भन्ने जस्ता प्लेकार्ड बोकेका थिए ।