मनोरञ्जन

बलिउड कलाकारहरूका ताल न बेतालका निकनेमहरू, ‘कसको निकनेम के ?’ जान्नुहोस्..

काठमाडौं । आजभोलि प्रेमी प्रेमिकालाई वा प्रेमिका प्रेमीलाई उनीहरूको वास्तविक नामले कमै बोलाउँछन् । अक्सर प्रेमी आफ्नो पार्टनरलाई वास्तविक नामको सट्टा उपनाम(निकनेम)ले पुकार्ने गर्दछन् । निक नेम त्यस्तो नाम हो जो साथीभाइ वा परिवारका सदस्यले प्रेमसँग बोलाउन प्रयोग गर्छन् । अनुभवीहरूका अनुसार निकनेम प्रयोग गर्दा पार्टनर/साथीभाई, बालबच्चा या अन्य कुनै पनि सम्बन्धका व्यक्तिहरूले इशाराको भाषा बुझ्ने गर्दछन् । 

कुरा गरौँ- बलिउड क्षेत्रको, यहाँ नाम चलेका सुपरस्टारहरूको समेत ताल न बेतालका निकनेमहरू भेटिन्छ । ती मध्ये केहि निकै हास्यास्पद छन् भने केहि निकै मिठा र प्रेमिल पनि । उसो त बलिउडमा पनि कलाकारलाई निकनेम दिने चलन छ।

करिना कपुर बेबो नामले चिनिन्छिन् । उनका पति सैफ अली खानलाई ‘छोटे नबाव’ र दिदी करिश्मालाई ‘लोलो’ भनेर जिस्काइन्छ।

अभिनेत्री विपाशा वसुको उपनामचाहिँ ‘बोनी’ हो । उनी सानी छँदा साह्रै क्युट, हर्षित, स्वस्थ भएकाले परिवारले उनलाई बोनी अर्थात् सुन्दर, चञ्चले भन्न थालेका थिए रे । आलिया भट्टलाई भने घरमा ‘आलु’ भनेर बोलाइन्छ ।

श्रद्धा कपुरलाई उनका बालसखासमेत रहेका वरुण धवनले ‘चिर्कुट’ नाम राखिदिएका छन् । साहिद कपुरलाई चाहिँ ‘सासा’ भनिँदो रहेछ। केटीको जस्तै नाम भएकाले उनी ‘सासा’ भनेर बोलाइँदा सुरुसुरुमा लजाउँथे । छोरी सोनम कपुरलाई अनिलले ‘जिराफ’ भनेर सम्बोधन गर्छन् । जिराफजस्तै लामो, अग्ली भएकाले यो नाम आफूलाई सुहाउने सोनम बताइहिँडछिन् ।

अभिनेता अजय देवगनको उपनाम ‘राजु’ हो । राजु सबैभन्दा प्रचलित उपनाम हो । काजोल भने आफ्ना पतिलाई ‘जे’ भन्न मन पराउँछिन् ।

बलिउडका सुपरस्टार शाहरुख खानलाई यासआरके, किंग खान जस्ता निक नेम निकै प्रचलित छन् । उसैगरी सलमान खानको ‘सल्लु, सल्लु भाइ’ चिरपरिचित निक नेम हो । ‘मुन्ना’, ‘अमित’, ‘बिग बि’ भनेर अमिताभ बच्चनलाई बोलाउने गरिन्छ ।

प्रियंका चोपडाको जिस्काउने नाम पहिले ‘मिमी’ थियो। तर, अभिषेक बच्चनले उनलाई ‘पिग्गी चप्स’ भन्न थालेपछि पूरै बलिउडले त्यही भनेर जिस्काउन थालेको छ । मिडियातिर भने उनलाई ‘पिसी’समेत भन्ने गरिएको छ।

रनवीर कपुरलाई ‘डब्बु’, वरुण धवनलाई ‘पप्पु’ र हृतिक रोशनलाई ‘डुग्गु’ भनेर चिनिन्छ । अभिनेत्री सुस्मिता सेनको निकनेम ‘टिटु’ हो भने कोनकोना सेन शर्मालाई छोटकरीमा ‘कोको’ भन्ने गरिएको छ।

ऐश्वर्यालाई ‘एश’ भनिए पनि नजिककाले उनलाई ‘गुल्लु’ भनेर बोलाउँछन्। शिल्पा सेट्टीको निकनेम ‘मान्या’ हो। अनुष्का शर्मालाई ‘नुषी’ भन्दा रहेछन्। कंगना रनोटलाई ‘अरसद’ भन्ने गरिन्छ ।

परिणीति चोपडा ‘टिसा’ नामले पनि चिनिन्छिन्। गोविन्दालाई आफन्तले ‘चिची’ भनेर पुकार्छन् ।