पु.समाचार

जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति विशेष समारोह गर्दै प्रधानसेनापति थापाद्वारा सलामी अर्पण

काठमाडौं । नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।

सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरे । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गरे ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उहाँको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।