पु.समाचार

उपसभामुखलाई राजीनामा दिन नेकपाको दबाब, राजीनामा नदिने डा तुम्बाहाङफेको अडान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनले भने, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । सभामुख कसलाई बनाउन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिएनन् । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफूसभामुखको लागि योग्य उम्मेद्वार भएकोले उक्त पदबाट राजीनामा नदिने अडान गर्दै सार्बजनिक अभिब्यक्ती दिएपनि अन्ततः पार्टीले राजीनामा दिन दबाब दिएपछि राजनीनामा दिने वा नदिने खुल्न सकेको छैन । उनको अडान यथावत भए राजीनामा नदिने संकेत देख्न सकिन्छ ।