साहित्य

मिलन चोक

ऊ अस्ती मेरो कोठाबाट हिँडेको थियो । ऊ अघि भर्खर फेरि आएको छ । खासमा मेरो कोठा त उसको मामाघर जस्तो भइसक्यो , आइरहनु पर्ने उसलाई। म आमैले गाउँबाट पठाएको गुन्द्रुक केलाउँदै थिएँ । अँ साँच्ची सम्बन्ध पनि गुन्द्रुक जस्तै हुँदो रहेछ । शुरु नयाँ हुँदा सिधा तर जति पुरानो हुँदै गयो उति बाङ्गिदै जाने । उसले फेरि शुरु गर्‍यो ,” क्षितिज उसको र मेरो कथा मिल्दैन यार, कहानी पनि मिल्दैन, व्यथा झन् कसरी मिलोस् ? मेरो कथा बाढी आएको त्रिशूली जस्तो, उसको कथा सुसेलेको मर्स्याङ्दी जस्तो ” ।

“हो कथा व्यक्ति व्यक्ति बिच फरक हुन्छ । सबैको कथा आ-आफ्नै हुन्छ । पिडा आआफ्नै हुन्छ । तँ धेरै चिन्ता नले यार । बस मुस्कुराइरहनू, सधैँ फुल्नु, कहिल्यै नओईलिनु। पिडाको बिरुवा मलजल नगर्नु, सम्बन्धका झारहरूलाई जति सक्दो मिल्काउनु !”, मैले भनेँ । हामी बिच यस्तो कुरा चलिरहँदा झ्यालको पर्दा फर्फराइरहेको थियो । उसले फेरि भन्यो,” यो झ्यालको पर्दा फर्फराएको भन्दा राम्रो कार्की बाकी छोरीको कपाल फर्फराउँछ । आहा ! क्या कपाल । खप्तडको पाटन जस्तो । आँखाको झन् कुरै नगरौँ क्षितिज । मेरो देश हेर्ने ऐना हुन् उसका आँखा, जहाँबाट म संसार देख्न सक्छु ।”

यो झ्यालको पर्दा फर्फराएको भन्दा राम्रो कार्की बाकी छोरीको कपाल फर्फराउँछ । आहा ! क्या कपाल । खप्तडको पाटन जस्तो । आँखाको झन् कुरै नगरौँ क्षितिज । मेरो देश हेर्ने ऐना हुन् उसका आँखा, जहाँबाट म संसार देख्न सक्छु ।”

उसको कथा सुन्दा सुन्दै मेरो मोबाइलमा फोनको घण्टी बज्यो । आमैले गर्नु भएको फोन रहेछ । उठाएँ । “अस्ति हिमाललाई पठाइदिएको थिएँ, एक पाथी गुन्द्रुक, दुई माना भट्ट, एक बट्टा घ्यू अनि हजार रुपैयाँ । पाइस् त तैँले “? आमा बोल्नुभयो । “हजुर आमा पाइसके, अहिले सामान मिलाउँदैछु । म हजुरलाई पछि फोन गर्छु । सामान मिलाई सकेपछि ।” मैले भनेँ । “होइन होइन, पैसा छैन होला म आफै गर्छु” आमाले यति भनेर फोन काट्नुभयो ।

आमाको माया । संसारमा केही कुरा सत्य छ भने त्यो हो, आमाको माया । सायद यो भन्दा अर्को सत्य यो संसारमा छैन । जहिल्यै सामान पठाउँदा कुटिरोमा बाँधेर हजार, दुई हजार पठाइरहनु हुन्छ । त्यो पनि बालाई नभनी’कन । यो आदत बनिसक्यो । आश पनि गर्न थालिसके । आमाले गाउँबाट सामान पठाउँदा मलाई सानोतिनो खर्च अवश्य पठाउनुहुन्छ भनेर । मान्छे जतिसुकै धनी नै किन नहोस्, ऊ आफ्नो आमा बिना गरिब नै हुन्छ । मान्छे जति नै गरिब किन नहोस्, उसलाई उसको आमाको काख बुइगल लाग्छ । मैले सम्झिएँ विगतका दिन । आमा सँगै बार्दलीमा बसेर बिताएका रातहरू । मेरो आमा त आमा मात्र होइनन्, मेरो जिन्दगी नामक किताबको विषय सुची हुन्, मेरी आमा। जहाँ हेरेर मैले मेरो जिन्दगीका हरेक पानाहरू पल्टाउन सकूँ ।

यतिन्जेल ऊ मोबाइल चलाएर बसीरहेको थियो । ऊ सधैँ खुसी भएर मेरो रुम छिर्थ्यो । उसलाई मेरो रुम छिर्ने बित्तिकै पार्क छिरे जस्तो फिल हुन्थ्यो रे तर आज उसलाई जेल छिरे जस्तो फिल भएको मैले अनुमान गरेँ । सोधेँ, “तँलाई आज के भयो ? किन तँ यस्तो मुद्रामा ? कार्की बाकी छोरीले छोड्यो भन्दैमा हामीले कहाँ छोडेका छौँ र ? भन आखिर भएको के हो ?” मैले सोधेँ ।

“क्षितिज हरेक मान्छे बाहिरबाट जस्तो देखिन्छ भित्र त्यस्तो नहुँदो रहेछ । बाह्य रूप हेरेर मान्छेको जज गर्नु र दुइटा सँगैका बट्टामा राखिएको चिनी र नुन छुट्ट्याउनु उस्ता उस्तै रहेछ । कपडा झुत्रा लगाउने मान्छेको मन झुत्रो नहुन सक्छ । कपडा मैला लगाउने मान्छेको मन मैलो नहुन सक्छ । म कपडा मैला लगाउँछु, मेरो मन मैलो छैन तर कार्की बाकी छोरी कपडा ए-वान लगाउँछ । महलबाट किन्छ । तर उसको मन सार्वजनिक शौचालय भन्दा कम्ती फोहोर रहेनछ । मलाई लाग्यो,उसको मन त फुटपाथबाट किनिएको सयको तीन जोडा मोजा जस्तै रहेछ” ,ऊ बोल्यो । घर नजिकै जामुनको बोट छ । एक जोडी परेवाहरू मज्जाले जामुन खाइरहेका छन् । क्या मज्जाको जोडी । जन्मिँदै एक अर्को लागि जन्मेको जस्तो । मान्छेको जोडी माथिबाटै भगवानले बनाएर पठाउँछन् भन्छन् मान्छेहरू । भगवानले यो परेवाको जोडी चैँ माथिबाटै पठाएको हुनुपर्छ । मनमनै सोचेँ । एकछिन यो दृश्यले वातावरण मौन रह्यो ।

“अस्ति सम्म त तँ आफूलाई चुम्बकको एक अनि कार्की बाकी छोरी अर्को हो भन्थिस् । जो’की नजिक पर्ने बित्तिकै एक भइहाल्नु पर्ने, जोडीहाल्नु पर्ने । सागरसम्म हिँड्ने नदीका दुई किनार हौँ ऊ र म । तँ मूला आफू बगर होस् । तेरो प्यास कसैले मेटाइदिने छैन । थुक निल्दै बस् भनेर मलाई भन्थिस् हैन त”? मैले उसलाई सोधेँ ।

उसलाई अब के गरौँ भन्ने भएको हुँदो हो । घरी टाउको माथि हात राख्छ । घरी झ्याल तिर हेर्छ । घरी जामुनको बोटमा परेवाको जोडी हेर्छ । घरी मोबाइल चियाउँछ त घरी के गर्छ । घरी भित्तामा टाँसिएका म्याथका फर्मुलाहरू ।

अभावसँग मेरो बिहान बेलुका भेट भइराख्छ । अभाव एक्लै आउँदैन रहेछ क्षितिज । यो पिडासँग मिलेर आउने रहेछ । जब पिडा र अभावसँगै मिसिन्छन् नि । सपनाहरू हुरीले उडाउँछ । सपनाको घर भत्किन्छ । सम्झनामा बादल लाग्छ ।

“ऊ कार्की बाकी एक्ली छोरी । मायाले पुलपुलिएकी । अभावसँग उसले कहिल्यै ठक्कर खानु परेको छैन । उसको दाइ अमेरिका छ । भाउजू अमेरिका बस्छ । आईफोन चलाउँछ । स्कुटीबाटै रुमबाट पसलसम्म आउँछ । म भने ठूल्बाले किनिदिएको यहीँ नोकिया मोबाइल । यहीँ ११ नम्बरको दुई गोडे शरीरको गाडी । ६ भाइबहिनीको एक्लो दाइ । घरको जेठो छोरो । जिम्मेवारीको भारी मेरो ज्यानभन्दा गह्रुङ्गो हुन लागी सक्यो । अभावसँग मेरो बिहान बेलुका भेट भइराख्छ । अभाव एक्लै आउँदैन रहेछ क्षितिज । यो पिडासँग मिलेर आउने रहेछ । जब पिडा र अभावसँगै मिसिन्छन् नि । सपनाहरू हुरीले उडाउँछ । सपनाको घर भत्किन्छ । सम्झनामा बादल लाग्छ ।”,  उसले लामो सास फेरिसकेपछि यति बोल्यो । उसलाई तिर्खा लागेछ । टेबलमा राखेको जगको पानी मज्जाले पियो । मानौँ, ऊ वर्षौँ देखिको भोको हो । उसले पानी नपाएको वर्षौँ भइसक्यो । उ तिर्खाएको वर्षौ भयो । यसरी त सायद मधुवनमा मृगशावकहरू तिर्खाउँछन् होला । वास्तवमा उसलाई पानीको तिर्खा भन्दा पनि मायाको तिर्खा बढी लागेछ । कार्की बाकी छोरी मायाको खोली हो । उसको एक अँजुली मायाले ऊ अघाएको छैन । उसलाई अघाउन धारो नै चाहिने । कार्की बाकी छोरी खोलीबाट धारो हुन नचाहने ।

“जिन्दगी यस्तै हो कान्छा । यो बगेको पानी हो । जसरी बग्न रुचाउँछ यसलाई त्यसरी नै बग्न दिनु । कार्की बाकी छोरीले छोडी भन्दैमा यो संसारमा तेरो कोही छैन भन्ने हुँदैन । जिन्दगी लामो यात्राको रेल हो । हरेक स्टेशनमा मान्छे चढ्न पनि सक्छ र ओर्लिन पनि सक्छ । सायद कार्की बाकी छोरीलाई तेरो प्रेमको रेलमा यो स्टेशनसम्म आइपुग्नु रहेछ । उसको गन्तव्य यहीँ सम्म रहेछ । ऊ यहीँ झरी । चिन्ता नले । अर्को स्टेशनमा अर्को यात्री चढ्न सक्छ । जिन्दगीको यो यात्रामा तेरो सहयात्री एक दिन भेटिनेछ । छोरो भएर जन्मिसके पछि दुइटा कुरा निभाउनु पर्छ । सबभन्दा बढी माया त्यसलाई गर्, जसले तँलाई जन्मायो र अझै बढी माया त्यसलाई गर् ,जसका लागि तँ जन्मिस्। दुवैको उत्तर एकै हो । आमा बुवाले जन्माए र आमा बुबाको लागि नै जन्मिएको हो । सहयात्री थर्ड पर्सन हो ” मैले बढो सोची सोची यति भनेर उसलाई सम्झाएँ ।

मलाई अल्छी लागे जस्तो भान भयो । मैले रेडियोको अन बटन थिचेँ । “ओराली लागेको हरिणको चाल भो, बाँचुन्जेल पनि मरेकै भान भो । छल गर्‍यो मायाले । छल गर्‍यो मायाले……” । रामकृष्ण ढकालको यो गीत बजीरहेको रहेछ । गीत मज्जाले बज्यो । गीत सक्किएपछि ऊ बोल्यो,” हेर्न यार । मेरो पनि जिन्दगी ओरालो लाग्यो । कार्की बाकी छोरीले छल गरी । उसको संगतले म बिग्रिए । उसले गर्दा म आज पटक पटक मरेर बाँचेको छु । यसरी पटक पटक मरेर बाँच्नु भन्दा एक पटक मरेको जाती । म यस्तो रातको खोजीमा छु, क्षितिज । जुन रातले मलाई सुताओस् तर त्यो रातले न त मलाई ब्युँझाउन सकोस् न त सुनौलो बिहानी नै ।”, उसको कुराले मलाई गम्भीर बनायो । अब के भनेर सम्झाउने उसलाई । मेरो शब्दहरू पनि उसको प्रेमका अगाडी फिक्का लाग्न थाले । मेरो डिस्नेरीले काम गर्न छोड्यो । ” मुला त्यस्तो भनेर कहाँ हुन्छ । एक माघले जाडो कहाँ जान्छ र ? संगतले मान्छे कहिल्यै बिग्रेको हुँदैन । ऊ हेर त्यो जामुनको बोटमा फलेको करेला कहिल्यै जामुन भएको छैन । न जामुन करेला नै भएको छ । गुलाब फूलको मुनि काँडा हुन्छ । संगतले हुने भए काँडा फूल बन्नु पर्ने हैन र ?” मैले भनेँ । बिचरा उसको आँसु झर्‍यो । मेरो सिरानीमा । मैले रुमाल झिकेर पुछिदिए । यो सहरमा मेरो कोही छ भने ऊ एक्लो हो । सहरमा घर जोडिए पनि मन जोडिएका हुँदैनन् । गाउँ भनेको गाउँ हो । जहाँ घर निकै टाढा हुन्छन् । जोडिएका हुँदैनन् तर मन जोडिएको हुन्छ । उसलाई दुःख पर्दा मलाई परेको भान हुन्छ । उसको दुःख भन्नु नै मेरो दुःख हो । आँसु एउटै हैन र उसले झारे नि मैले झारे नि । मलाई लाग्यो उसको आँसु बगिरहेको छैन । पिर बगिरहेको छ । प्रेम बगिरहेको छ । उसले झारेको आँसुले तृप्त हुने बगर ऊ भन्दा धेरै टाढा छ ।

नामको विश्वास नगर्नु पर्ने रहेछ । विश्वास त काम र व्यवहारको गर्नु पर्ने रहेछ । मेरो बाको नाम धनप्रसाद गौतम तर मेरो घरको आँगनमा, जताततै गरिबीको बोट उम्रेको छ । बाहुनको घरमा तुलसीको बोट उम्रनु पर्ने होइन र?

आँसु पुछिसकेपछि भन्यो, “क्षितिज, नामको विश्वास नगर्नु पर्ने रहेछ । विश्वास त काम र व्यवहारको गर्नु पर्ने रहेछ । मेरो बाको नाम धनप्रसाद गौतम तर मेरो घरको आँगनमा, जताततै गरिबीको बोट उम्रेको छ । बाहुनको घरमा तुलसीको बोट उम्रनु पर्ने होइन र? मेरो घरमा त गरिबिको बोट उम्रेको छ । कार्की बाकी छोरीको नाम सभ्यता । उसले मेरो प्रेमलाई कहिल्यै सभ्य रूपले स्वीकार गरिन । सभ्य भएर ऊ कहिल्यै मसँग बोलिन । उसको सभ्यता नाम सायद नागरिकताको कपिमा र सर्टिफिकेटमा होला । व्यवहारमा ऊ असभ्यता हो । मेरो नाम बुद्धिप्रसाद तर एसएलसी बल्लतल्ल कटेको हो । क्लासको लास्ट बेन्चर हो म । अनि हाम्रो पहिलो भेट मिलन चोकमा भएको थियो । हाम्रो मिलन चोकबाटै विछोड भयो” । उसले अहिले गज्जबका कुरा गर्‍यो । ऊ अब हाँस्न थाल्यो । अब जाने बेलामा उसलाई हँसाउन लागेँ । “हेर बुद्धि । आजभोलिको माया प्रेमको विश्वास नलागेर नै क्षितिज क्षितिज भएको हो । ऊ भोलि पर्सीको मायाको पर्खाइमा छ । मेरो भाग्यमा त प्रेम क्षितिज जत्तिकै टाढा छ । तैँले कुरा गरेको थिइस् नि । कार्की बाकी छोरीले मेरो परपोज एसेप्ट गरी भनेर । त्यसै दिन बेलुकी सिमलचौर बजारबाट चप्पल किनेको थिएँ मैले । तिमीहरूको लभ भन्दा बेसी मेरो चप्पल टिकेको छ !” मैले यत्ति भनिसकेपछि ऊ मज्जाले हाँस्यो ।

रेडियोमा साँझ सात बजेको समाचार बज्न शुरु भयो । मैले समाचार आउने बेला नै रेडियो बन्द गरेँ । कति सुन्नु, हत्या-हिंसा बलात्कार, चोरीडकैतीका समाचार ? कति सुन्नु, भ्रष्टाचार, लुटपाट, ठगी, महँगी, करका समाचार ? कुन बेला हामीले फेर्ने सासमा पनि कर लाग्ने हो थाहा छैन । अँध्यारो हुँदै थियो । ऊ भोलि भेट्ने बाचाका साथ मेरो रुमबाट बिदा भयो । मैले आमाको फोन आयो कि भनेर मोबाइल समातेँ । यति नै हो मिलन चोकको कथा, यति नै हो उसको कथा । बुद्धिप्रसादको जस्तो मिलनचोकको कथा तपाईँहरूको नहोस् !

✍ भेष राज बुढाथोकी
(लेखक कविता,कथा,गजल र मुक्तकमा कलम चलाउँदै आइरहेका छन् । )