साहित्य

‘द ममता’ गेस्ट हाउस

हामी रुझिरहेका छौँ।
मस्त छौँ।
एक अर्कालाई निहालि रहेका छौँ।
अकस्मात् मेरो नजर उसको भिजेको शरीरमा पुग्छ।
निथ्रुक्क भिजेकी।
भिजेको कपास जस्तै लाग्ने,
निचोर्दा तप्प तप्प पानी खस्ने गरी नै।

हामी रुझ्न एकदमै मन पराउँथ्यौँ।
रुझ्न भनेर एक्लिएर होइन । यसरी उ सँग रुझ्न पाउँदा मलाई र मसँग रुझ्न पाउँदा उसलाई खुब मजा लाग्थ्यो। छुट्टै आनन्द मिल्थ्यो।
हातमा छाता थियो र, पनि रुझिरहेका थियौँ।
हामीलाई हेर्दै खिज्याइरहेका पानीका थोपाहरूको भाव प्रष्ट बुझिन्थ्यो।

झरीले हामी दुवैको टाउको रुझायो।
विस्तारै आँखा रुझायो।
ओठमा सलबलायो।
घाँटीतिरबाट विस्तारै विस्तारै तल तल झर्न लाग्यो।
छातीको आवरण देखिने गरी निथ्रुक्क बनायो ।
यसरी सबै सबै चुमेर पैतालाबाट थकित बनेर झर्‍यो झरी ।

हामी क्याफे ।
क्याफे हैन क्यार बाटो छेउको चिया पसल ।
उनी चिसो भएको इशारा गरेर मेरो पाखुरा समाउन लागिन् ।
उनको शरीरबाट मगमग् सुनौलीको अत्तरको गन्ध आइरहेथ्यो।
उ बेला लाग्यो उनको कपडा नसुकोस् ।
उनलाई जाडो भइरहोस्।
म उ भित्र मात्र निहित हुन पाउँ ।
कैद हुन पाउँ।

यत्तिकैमा दुई कप चिया आयो ।
चिया टेबल मा राखेर चिया पसलको दाइ उसलाई हेरिरहेको थियो।
मैले आँखा नलाएको ठाउँमा उ निहुरिएर हेरिरहेथ्यो।
-दाइ
उ झस्किँदै ‘भन्नुस् ‘भन्यो ।
म उसलाई नहेरोस् भन्ने चाहानाले चियामा चिनी कम रहेछ ल्याइदिनुहोस् न भनेँ।
हामी प्रेममा मस्त थियौँ।
प्रेम बनेका थियौँ।
विगतका मिठा यादहरू एक एक पिउँदै थियौ।
चिया पसलेले चिनी हालिदिए पछिको चिया जस्तो ।

मेरो मोबाइलमा फोनको घण्टी बज्यो ।
उसले उठाउने इशारा गरी।
तर म साइलेन्समा राखेँ।
यति बेला लाग्यो आफ्नै साथीहरू पनि भिलेन बन्न आइपुग्छन् ।
कहिल्यै फोन नगर्नेले यही बेला गरिरहेछन्।
मनलाई लथालिङ्ग बनाइदियो फोनको घण्टीले ।
हाम्रो नजरहरूलाई यता उता बनाइदियो।
मलाई फोनसँग रिस उठ्यो।
हुन त हामीलाई एक बनाउने पनि यही फोन नै थियो।
हे होस् ! म कन्ट्रोल भएँ।

हामी त्यहाँबाट निस्कियौँ।
विस्तारै साँझ पर्दै गएको थियो।
साँझ यसै पनि सुन्दर हुन्छ।
हामीले समयको मृत्यु गराएका थियौँ।
दिनको मृत्यु भए मात्र रातको जन्म हुन्छ।
यसर्थ हामीलाई मृत्यु पनि सुन्दर लागेको थियो।
किनकी रातको जन्म हुनु भनेको हामी हामीबाहेक सबैलाई बिर्सनु थियो।

लामो समय पछिको भेट थियो।
धेरै चहानाहरुलाई कैद गरेर बसेका थियौँ।
यति बेला लाग्यो हामी हिरासतबाट भागेर लुकेको अपराधी हौँ।
हामी कसैलाई थाह नदिई रमाउनु पर्छ बाँच्नु पर्छ।
यो समय बिताउनु पर्छ।

बसपार्क ।
द ममता गेस्ट हाउस।
रुम नं १०७ ।

डबल बेड तर सिङ्गल रुम थियो ।
यो बेला चाहना त सिङ्गल बेड कै थियो ।
सिङ्गल बेड भन्दा पनि म उसको स्पर्शको भोको थिएँ ।
उसको स्पर्शको चाहना थियो ।
हुन त नदीमा डुङ्गा जति नै हुन् दुई खुट्टा एउटा मै राख्नु पर्छ।
हामी दुई एक बराबर थियौँ।
एउटा बेडमै पल्टियौँ।
बिस्तारै न्यानो हुँदै थियो । रात छिप्पिँदै थियो।
म उसलाई बेस्सरी अँगालो हाल्न चाहिरहेको थिएँ।
कति बेला उ तिर फर्कन्छु त कति बेला कुना तिर।
अन्ततः उसले आफै मेरो राजा भनेर खुब अँठ्याएर अङ्गालो मारी।

रातिमा सुतेको बेला लागेको भन्थे यसरी चापेको र चल्न नसकेको अवस्था आएमा।
तर म चल्न नि चाहिन ।
म सासलाई पनि बिस्तार बिस्तार फेरियोस् चाहन्थेँ ताकी उसले अङ्गालो बाट नछोडोस्, कुनै डिस्टर्ब नहोस्।
म पनि उसरी नै अँठ्याएर अङ्गालोमा लिएँ।
खुब सपना बुनेँ ।
यति बेला हामीले हामी बाहेक सबै भुलेका थियौँ।
आजो भन्दा अघिको हामी, हाम्रो विगत यी कुराहरूप्रति कुनै ध्यान थिएन।
यसै आँखा जुधाइरहेका थियौँ।

ढोकामा कसैले नक् गर्‍यो ।
लाग्यो हलुवा खाइरहेको बेला दाँतमा ढुङ्गो लाग्यो।
अँगालोबाट छुटिएर पहिले त थाह नपाए जस्तो गरेँ।
तर फेरि ढोका बज्यो। मलाई रिस उठ्न लाग्यो ।
यो समय अनि यो अवस्थामा कसले हामीलाई घच्याइरहेछ भन्ने भइरहेको थियो।

उनले ढोका खोल्ने इशारा गरिन् ।
यति बेला को आयो भन्ने भन्दा पनि किन आयो भन्ने रिस लागिरहेको थियो। डर थिएन।
रिसै रिसमा ढोका खोलेँ।
होटेलको वेटर रहेछन्।
भाइ खाना खान बोलाउन आएका रहेछन्।
तर हामी भोका भन्दा ज्यादा तिर्खित थियौँ।
प्रेमको प्यासी ।

हामी तल खाना खाने ठाउँमा ।
खाना ठिकै थियो।
खाना खाएर हामी पुनः आफ्नो कोठामा लाग्यौँ।

कोठाको चुकुल लगाउनु पहिले पानी चाहिन्छ भन्दै आउने हुन् कि भन्ने पिरले पहिले नै पानी लिन गएर आएँ।
हामी अहिले खाना खानु पहिले जस्तो भएनौँ।
त्यति प्रेम बन्न खोजेनौँ।

– साना कविता सुनाउनु न ।
मलाई कसैले कविता सुनाउनु भन्यो भने उसलाई झिँजो नलाग्दासम्म सुनाइरहने बानी नै थियो।
म आफ्नो मोबाइलको नोटबाट ‘रानीमहल’ भन्ने प्रेम कविता सुनाउन लागेँ।
कविताको लयसँगै उसको स्पर्शको लय बढ्दै गयो ।
– म हजुरको छातीमा सिरानी बनाएर सुतूँ?
– हुन्छ सोध्नु पर्छ र? कि लाज लाग्छ यसै सुत्न? मैले ठँट्याउली तरिकाले जवाफ दिएँ।
उ अलि नजिक भएर बसी।
उस्तै म उसको नजिक नजिक बनिरहेँ।

यत्तिकैमा मैले उसको गाला चुम्न पुगेँ। यति बेला दिमाग चलेको थिए,न मन चलिरहेको थियो । स्पर्शको रापमा जलिरहेको थियो।
हामी विस्तारै विस्तारै गर्दै झन् उत्तेजित हुन पुग्यौँ ।
मैले उसको ओठमा किस गर्न लागेँ ।
उसले मेरो जिब्रो खुब नराम्रोसँग टोकिदिई।
– ऐया$$ !
बोल्न नमिल्दा नमिल्दै ऐया भनेँ।
उसले हाँसेर फेरि उस्तै व्यवहार निरन्तर गर्न लागि तर टोकिन।
म प्रेममा बेहोस बनेको थिएँ।
स्पर्शले बेहोस भएको थिएँ।
मातेर चल्न बोल्न नसक्ने बनेको जस्तो।
अकस्मात् मलाई जिब्रोमा नुनिलो स्वाद परे जस्तो भयो तर मलाई स्वादसँग सरोकार भएन।
लामो समयसम्म मैले कुनै दाउरो टोकिरहे जस्तो ,
कुल्फी सकिएर अन्तिममा रहेको दाउरो चुसिरहे जस्तो अनुभव भयो।
यस्सो निकालेँ ।
उ खुब बाठी बनेर आफ्नो चोर औँलो चुसाइरहेकी रहिछे यतिका समयसम्म।

बिहान भयो।
हामी छुट्टिनुपर्ने समय आएको थियो।
बिहान ८ बजे नै होटेल बाट निस्कियौँ र चिया पिएर छुट्टियौँ।
उ बिस्तार हात हल्लाएर गाडीमा बस्न लागी ।
उसको हातमा भन्दा उसको आँखामा बिदाइको भाव प्रष्ट देखिएको थियो।
म पनि मलिन भएर घर फर्किएँ।

बिस्तारामा पल्टिरहेको छु।
उसको सम्झनामा कैले यता कैले उता गरिरहेको छु।
अहिले आफ्नै चोर औँलो आफैँले चुसिरहेको छु तर बेस्वादिलो छ।
साँच्ची प्रेममा पाएको त जहर पनि सजिलै पिउन सकिन्छ होला हगि ?