राजनीति

सभामुख पदको दाबी गर्दै तुम्बाहाङ्फेले ओली र प्रचण्डसमक्ष पेश गरिन् ‘१२ बुँदे योग्यता सूची’

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता न्यून रहेको बताएकी छिन् । ‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरुको सहभागिता न्यून रहेको बताएकी हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली एवम् नेकपा अध्यक्ष्य पुष्पकमल दाहालसँग कुरा गर्नको लागि समय माग गरेकी थिइन्  । नेकपा अध्यक्षद्वयले आज(शुक्रबार) बिहान उनलाई बालुवाटार बोलाए । तुम्बाहाम्फेले शुरुमा आफ्नो पीएचडीको थेसिस पुस्तकमा हस्ताक्षर गरेर दुवै नेतालाई उपहार दिइन् ।

सोही पुस्तक उपहार दिँदै उनले विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भए पनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको गुनासो अध्यक्षद्वय सामू राखिन् । समयलाई व्यवस्थापन गर्न सके असम्भव भन्ने कुनै कुरा नहुने भनेर आफूले पुष्टि गरेको बताउँदै उनले पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उल्लेख गरिन् । 

उनी त्यतिमै रोकिइनन् । स्रोतका अनुसार उनले प्रचण्डसहित नेकपा सचिवालयका ५ जना नेताको भैंसेपाटी बैठक, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङका अभिव्यक्ति र कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन खोजिएको भन्दै तीब्र आक्रोश पोखेकी थिइन् । उनले आफूलाई पार्टी ह्वीप नलाग्ने भन्दै संविधान बमोजिम महाअभियोग लगाएर हटाउन चुनौतीसमेत दिइन् । बुधबार गौतम निवासमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको थियो ।

तुम्बाहाम्फेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘भैंसेपाटीको बैठकमा ६ जना उपसभामुख बाधक हो बसेर छलफल गर्नुभएछ । प्रवक्ता र प्रमुख सचेतकले रेडियो र पत्रिकामा यस्तै आरोप लगाउनुभएको छ । यो ममाथिको राजनीतिक हिंसा हो । म पनि भण्डाफोर गरौं ? जनतालाई भनौं ? तपाईंहरु के के गर्दै हुनुहुन्छ जनतालाई बताऊँ ?’

उनले पार्टीले उपसभामुखलाई राजीनामा गराउने भनेर गरेको निर्णय देखाउन चुनौती दिएकी छन् । संविधान र कानुन बमोजिम आफू चल्ने भन्दै उपसभामुख तुम्बाहाम्फेले अब पार्टी निर्णय पर्खेर संसदलाई बन्धक नबनाउनेसमेत बताएकी थिइन् ।

“महिलाहरुका लागि जति आन्दोलन भए पनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता न्यून छ । विगत र वर्तमानलाई हेर्दा उपल्लो चहमा महिलाहरुको सहभागिता छ । तर सत्ताको माथिल्लो तहमा पुग्ने वित्तिकै महिलाहरुको अवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा होइन रहेछ भन्ने नेपालमा पुष्टि भएको छ”, उनले भनिन् । 

बलियो बनेर बसेको पितृसत्तात्क सोचलाई उन्मुलन गर्न महिलाहरु एकजुट भएर सशक्त रुपमा अगाडी बढ्नुपर्ने उनले बताइन् । नेपालमा महिला आन्दोलन विषयमा पीएचडी गरेकी डा. तुम्बाहाम्फेले त्रिभुवन विश्वविद्यालयमा बुझाएको थेसिस पुस्तकका रुपमा प्रकाशित गरेकी हुन् । 

उपसभामुख तुम्बाहाम्फेले आफू सभामुख हुन के कति कारणले योग्य भनेर एक दर्जन बुँदासमेत सविस्तार सुनाइन् । उनले त्यसक्रममा आफ्नो भूमिका र संलग्नताका क्षेत्रबारे १२ वटा बुँदा पेश गरेको स्रोतले जनाएको छ ।

१. २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी
२. अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष
३. युवा संघको केन्द्रीय जिम्मेवारी
४. अखिल नेपाल महिला संघको नेतृत्व गरेको
५. नेपालमा महिला आन्दोलन विषयमा पिएचडी
६. प्राज्ञिक र लेखन कार्यमा संलग्न
७. कानुन पढेको
८. विश्वविद्यालयमा अध्यापन गराएको
९. अभ्यासरत वकिल
१०. तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य
११. अनुसन्धानकर्ता (प्राज्ञिक)
१२. बहालवाला उपसभामुख