पु.समाचार

बाग्मती व्यवस्थापन गर्न सकिएन भने काठमाडौँ व्यवस्थित हुँदैन- मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताएका छन् । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ सहर निर्माणमा सरकार लागेको बताए।

“उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ सहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ,” उनले भने । राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गरे। बाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौँ व्यवस्थित हुन नसक्ने उनको भनाइ थियो ।

सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गर्नुभयो । ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठले म्हैपी क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । “आफ्नो लागिभन्दा पनि समाजका लागि काम गरौँ,” उनले भने ।

समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले म्हैपी मन्दिरसम्म जानका लागि घुम्ती बाटो निर्माण अहिलेको प्राथमिकता भएको बताए । “घुम्ती बाटो निर्माणका लागि काठमाडौँ महानगरपालिकाले गरेको रु ५० लाख सहयोगले मात्रै हुन सक्दैन,” अध्यक्ष श्रेष्ठले भने ।

वि.सं २०५८ मा म्हैपी मन्दिर र वन क्षेत्रको संरक्षणका लागि स्थापना भएको समितिले हाल म्हैपी मन्दिरलाई नमूना मन्दिरका रुपमा विकास गर्न विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ ।