पु.समाचार

दिलिप हत्या प्रकरणः क्रसर व्यवसायी महतो पक्राउ

धनुषा । धनुषामा शुक्रबार टिपरले किचेर हत्या भएका दिलीप महतो प्रक्ररणमा संलग्न भनिएका क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । आज(शनिबार) बिहान मिल्स एरियास्थित ससुराली घरबाट प्रहरीले पक्राउ गरेको हो ।

धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जानकारी दिए ।

परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । धनुषाको मिथिला नगरपालिका-५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।

महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।