समाचार

फुर्सदिला अभिभावकलाई आयआर्जनमा जोड्दै वडा

बेझाङ । फुर्सद कसैलाई आंशिक हुन्छ त कसैलाई पूर्ण । पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले सर्वसाधारणको फुर्सदको समयलाई उपयोग गराउने गरी सीपमूलक तालीम दिँदै आएको सन्दर्भमा पाल्पाको रामपुर नगरपालिका वडा नं ६ कार्यालयले आंशिक फुर्सदिला अभिभावकलाई लक्षित गरी सीपमूलक स्वीटर बुन्ने तालीम शुरु गरेको छ ।

वडाभित्रको दरैठाँटी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकलाई लक्षित गर्दै तालीम आयोजना गरिएको हो । तालीमबाट फुर्सदको समय सदुपयोग भएको छ नै त्यसले सीप सिक्दै आयआर्जनतर्फ उन्मुख गराएको छ ।

विद्यालयमा पढ्न जाने बालबालिकालाई दिउँसो खाजा खुवाउन जाने र केही समय बसेर सँगै लिएर आउने अभिभावकलाई कार्यालयले सञ्चालन गरेको स्वीटर बुन्ने तालीम निकै उपयोगी बनेको स्थानीय शोभा लम्सालले बताईन् । बिहान १० बजे स्कूल ल्याएको बच्चालाई दिउँसो १ बजे नै खाजा खुवाउन आउने र स्कूल छुट्टी भएपछि सँगै लिएर जाने गरेको सम्झँदै लम्सालले यो बीचको फुर्सदको समयलाई तालीममा लगाइदिएर वडाले गुन लगाएको बताईन् ।

खाजा खुवाउन, विद्यालय छोड्न, लिन जाने गर्दैमा अभिभावकको दिन बित्ने गरेको बताउँदै उनले वडाले दिएको स्वीटर बुन्ने तालीमले आफूहरूलाई आयआर्जनतर्फ पनि पे्ररित गरेको बताईन् । सीपमूलक तालीमका माध्यमबाट खाजा समयपछिको खाली समय सदुपयोग होस् भनेर अभिभावकका लागि स्वीटर बुन्ने तालीम आयोजना गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिएका छन् ।

विद्यालयमा दिनभर अभिभावक बसिरहनुपर्ने बाध्यतासँगै कोही मोबाइलमा व्यस्त, कोही गफगाफमा व्यस्त हुने गरेका कारण उक्त समय सदुपयोग होस् भन्ने उद्देश्यले स्वीटर बुन्ने तालीम दिइएको उनल बताए । “बालबच्चालाई समयमै स्कूल पठाउन, लिन जाने, खाजा खुवाउने कार्यले अभिभावकले विभिन्न सीपमूलक तालीममा सहभागी हुने समय पाउने थिएनन्”, उनले भने, “अहिले भने स्कूल हाताभित्रै सीपमूलक तालीम दिन थालेपछि उनीहरूलाई आयआर्जनको विकल्पसमेत बनेको छ ।”

तालिममा सहभागी महिलाले उत्साहका साथ सीप सिकिरहेको प्रशिक्षक गंगासरा रानाले बताईन् । फुर्सदको समय सुदपयोगसँगै सीप सिक्ने अवसर पाएपछि तालीमपश्चात स्वीटर बुनेर आयआर्जन गर्ने सोच राखेको सहभागी प्रतिमा वाग्लेले बताईन् । “दिउँसो काम नभएपछि समय बिताउनैपर्यो, मोबाइल इन्टरनेटमा व्यस्त भइन्थ्यो”, उनले भनिन्, “अहिले त्यो फुर्सदिलो समय सीपमूलक काममा लगाउन पाइएको छ, हाम्रा लागि यो निकै उपयोगी बनेको छ ।”

यस तालीमले ५० वर्षीय सविता पाठकलाई पनि उत्साह थपिदिएको छ । उनले पनि उमेर ढल्किए पनि हातको सीप सिकेर निरन्तर स्वीटर बुनेर घरायसी प्रयोजनका लागि मात्र नभई बिक्री गरी आम्दानी गर्ने लक्ष्य लिएको बताइन् । यो तालीमप्रति प्रभावित भएर अन्य विद्यालयका अभिभावकले पनि तालीम सञ्चालन गर्न सम्बन्धित वडा कार्यालयमा अनुरोध गर्न थालेका छन् ।

वडाले अभिभावकका लागि आयोजना गरेको स्वीटर बुन्ने तालीम उपयोगी र नमूनायोग्य रहेको र यसैबाट उनीहरुलाई आयआर्जन गर्ने बाटो सिर्जना गरिदिएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताछन् । तालीममा ४० अभिभावक सहभागी छन् । दरैठाँटी माविमा शुरु भएको तालीमको अनुभवपश्चात सोही वडाको नवदुर्गा माविमा पनि तालीम सञ्चालन गर्ने वडाले जनाएको छ ।