पु.समाचार

सरकारको मात्र होईन आफ्नो भूमिका पनि खोज्नुस्- डीआईजी पोखरेल

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगंले शुक्रबार गल्फुटार पार्टी प्यालेसमा आयोजना गरेको शान्ति सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ‘सुखी नेपाली समृद्ध शान्त नेपाल’को लागि सुशासन अनिवार्य शर्त भएको बताएका छन् ।

सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ त्यो पूरा गर्न हरेक नागरिकको भूमिका जरुरि हुने उनले बताए । “सबै हाम्रा आकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्ने प्रवृत्तिले देश बन्दैन । सरकारको आकांक्षामा मेरो भूमिका कहा छ भनी खोजी गरिनुपर्छ “, उनले भने  ।

उनले अगाडि भने, “शान्ति सुरक्षा कायम गर्ने हाम्रो जिम्मेवारी निर्वाहमा हामी कहीं कतै कसैसँग कुनै प्रकारको सम्झौता नगरी काम गर्ने छौं । सुशासन, जिरो टोलरेंस र प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने मेरो एक मात्र उद्धेश्य छ ।”

उक्त अवसरमा प्रमुख अतिथि पोखरेलले मुलुकमा विकास, समृद्धि, सुशासन र दिगो शान्ति स्थापित हुंदा त्यसको भोग त्यसका मुख्य नेतृत्वदायीहरुले मात्र गर्ने होईन, समग्रमा उपलब्धीको भोग हामी सबैले र आउँदो सन्ततीले पनि प्राप्त गर्ने बताए । मुलुकको विकास समृद्धि, सुशासन र स्थायी शान्तिको जिम्मा सरकारको मात्र होईन मेरो पनि हो भन्ने सबैले बुझ्नु जरूरी भएको बताए । आफ्नो सुगन्धित महल बनाउनेले घर बाहिर निस्किदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त(सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनु पर्दछ भनि स्मरण समेत गराए ।

“आज समाजमा भएका सबै अपराध, भय, त्रास समाजकै सदस्यहरुबाट भएको हो । यस्ता बाटो बिराएकाहरुलाई कानुनको दायरामा ल्याउन तपाईहरुको पनि भूमिका छ । अहिले समाजमा कुनै डरलाग्दा अपराधका घटना घटेका छैनन् जुन घटनाले सिङ्गो समाजलाई त्रसित बनावस् तर पनि अपराधका घटनाहरु घर/घरमा भइरहेका छन्, चाहे त्यो महिला हिंसाको घटना होस् चाहे त्यो आफन्तबाट भएका बलात्कारका घटना हुन् वा आत्महत्याका, जे भन्नुस यस्ता घटनाको रोकथाम जिरो टोलरेन्सबाट मात्र संभव छैन ।” उनले थप अगाडी भने, “त्यसैले यस्तो घटना रोकथाम, नियन्त्रण गर्ननै समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै यस प्रकारको कार्यक्रमले तपाईँ हामी सबैलाई बढि भन्दा बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउँछ ।”

साथै उक्त अवसरमा बुढानिलकण्ठ नगरपालिकाका मेयर  उद्धव प्रसाद खरेलज्यूले नेपाल प्रहरीले ल्याएको यस समुदाय प्रहरी साझेदारी कार्यक्रम समाजमा हाल घटिरहेका अपराधहरुको रोकथाम र नियन्त्रणमा निकै प्रभावकारी रहेको बताउँदै पहिला आफू सचेत होऔं पछि समाज अनि मात्र सम्पूर्ण राष्ट्रको बिकास संभव भएकोले नेपाल प्रहरीले सुरक्षा सुदृढिकरणको अभियानलाई अन्तरस्कन्दनले प्रशंसा र सहयोग गर्नुपर्ने समेत बताए ।