खेलकुद

प्रेसिडेन्ट कप ब्याडमिन्टन : भारतीय खेलाडीलाई हराउँदै प्रिन्स फाइनलमा

काठमाडौँ । नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उहाँले भारतका अभिन वशिष्टलाई २–१ सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । प्रिन्सले पहिलो सेट २१–१८ अङ्कले जितेको थियो । दोस्रो सेट उनले २०–२२ अङ्कले गुमायो । तेस्रो सेट २१–१७ अङ्कले आफ्नो पक्षमा पार्दै पिन्सले फाइनलमा स्थान बनाएको हो ।

प्रिन्सले शनिबार उपाधिका लागि शनिबार भारतीय खेलाडी मिरावा लेवाङसित खेल्नेछ । लेवाङले आज भएको सेमिफाइनल खेलमा श्रीलंकाका दुमिन्दु अवेविक्रमालाई २१–१२ र २१–८ अङ्कले हराउँदै उपाधिको दाबेदारी गरेको हो । यस्तै यु १९ महिला एकलतर्फ भारतकी मिर तस्मिन फाइनलमा प्रवेश गरेकी छन् । उनले नेपालकी निता लम्साललाई २१–९ र २१–९ अङ्कले पराजित गरेको हो ।