राजनीति

धरौटीमा छुटेका सिद्धबाबालाई थुनामा पठाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन पर्यो

विराटनगर । बलात्कार अभियोगमा पक्राउ परेका कृष्णदास गिरी(सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशअनुसार धरौटी तिरेर रिहा भएका सिद्धबाबा आफूलाई धरौटी नलिई साधारण तारेखमा रिहा गरिदिन मागसहित उच्च अदालत विराटनगर पुगेका हुन् ।

उता सिद्धबाबालाई थुनामा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन माग गर्दै सरकारी वकिलको कार्यालयले पनि उच्च अदालतमा निवेदन दिएको छ । थुनामा पठाउनुपर्ने अभियुक्तलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने माग सरकारी वकिलको छ ।

दुवै पक्षबाट निवेदन परेपछि उच्च अदालत विराटनगरले दुवैको निवेदनलाई एकसाथ राखेर सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले आगामी बिहीबार यो विवादमा सुनुवाइ गर्ने बताएको छ ।

आफू सिद्धबाबाबाट बलात्कृत भएको भन्दै एक महिलाले गत १० मंसिरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा उनीविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरे पनि बिरामीको बहाना बनाउँदै लामो समय अस्पताल बसेका थिए । धरौटीमा रिहा भएलगत्तै उनी अस्पतालबाट समेत डिस्चार्ज भएका थिए ।