कृषि

कम्पोष्ट मल उत्पादन तालीम प्रदान

भक्तपुर । देश सरकारअन्तर्गत कृषि विकास निर्देशनालय प्रदेश नं ३ को सहकार्यमा सात जिल्लाका १२५ लाई जापानिज प्रविधिबाट कम्पोष्ट मल उत्पादन गर्ने तालीम प्रदान गरिएको छ ।

मध्यपुरथिमि नगरपालिकाले वडा नं ४ मा गत वर्षबाट सञ्चालनमा ल्याएको घर–घरको फोहर सङ्कलन गरी कम्पोष्ट मल बनाउने जापानिज प्रविधिलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्ने उद्देश्यले सञ्चालित तालीम आज सम्पन्न भएको हो ।

नगरपालिका र रिकिशी कम्पोष्ट मल प्रालिद्वारा आयोजित कम्पोष्ट मल केन्द्रमा सञ्चालित जापनिज प्रविधिबाट कम्पोष्ट मल बनाउने तालीमका सहभागीलाई सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रमाणपत्र वितरण गरे । तालीममा सहभागी चितवन, दोलखा, रामेछाप, बाजुरा, काठमाडौँ, सिन्धुपाल्चोक र भक्तपुरमा कम्पोष्ट मल बनाउने प्रविधि विस्तार गर्न सरकारलाई अब सहज भएको उनले बताए ।

नेपाल सरकारको कृषिलाई आधुनिक, वैज्ञानिक र यान्त्रिक बनाउने अभियानलाई समेत यो प्रविधिले प्रदेशका सबै जिल्लामा यो अभियानलाई विस्तार गर्न तालीमले ठूलो टेवा दिने बस्नेतको भनाइ थियो ।

कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्युरथिमिको फोहर व्यवस्थापनमा यसले सघाऊ पुर्याएको बताए । नगरपालिकाले अहिले वडा नं ४ का घरघरबाट फोहर सङ्कलन गरेर जापानिज प्रविधिबाट कम्पोष्ट मल बनाएको उल्लेख गर्दै उहाँले यसलाई नगरपालिकाको सबै वडामा विस्तार गरिने बताए ।

कम्पोष्ट मल उत्पादन केन्द्र अहिले अध्ययन एवं अवलोकनको केन्द्र बनेको जानकारी दिँदै उनले यहीबाट सिकेर राप्ती नगरपालिकामा पनि स्थानीयवासीले यही प्रविधिको मल उत्पादन शुरु गरेको बताए । त्यसअवसरमा रिकिशी कम्पोष्ट मल प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले घरमा फाल्ने फोहरलाई जैविक मल बनाएर प्रयोग र बिक्री गर्न सकिने बताउँदै यो प्रविधिलाई देशव्यापीरूपमा विस्तार गर्नुपर्नेमा जोड दिए।

जापानमा ४७ वर्ष अगाडि जापानिज नागरिक हासिमोदोले जन्माएको यो प्रविधि विभिन्न देशमा नमूनाका रुपमा प्रयोगमा आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा शुरु भएको यो केन्द्रलाई दक्षिण एशियाकै प्रशिक्षण केन्द्रको रुपमा लैजान सकिने बताए ।

तालीममा सहभागीमध्ये घनश्याम कँडेल र विश्व लामाले यहीँबाट सिकेर राप्ती नगरपालिकामा आफूहरुले मल उत्पादन शुरु गरिसकेको बताउँदै स्थानीय सरकारले मध्यपुरमा जस्तैगरी अन्यत्र पनि सघाउनुपर्नेमा जोड दिए। प्रशिक्षार्थीलाई जापानिज नागरिक जुनसा खामोसिजीले प्रशिक्षण दिएका थिए।