विचार/ब्लग

बजारमा नबिक्ने प्राणीहरू

केवल नाफाको तराजुले मानव इतरका हरेक प्राणी र प्राकृतिक वस्तुको उपादेयता तौलने कथित आधुनिक प्रणालीको दुखद पक्ष हालसालै अस्ट्रेलियाको सरकारले गरेको दश हजार जङ्गली उँटको हेलिकप्टरबाट गोली हानी ‘सङ्ख्या न्यूनीकरण'( अङ्ग्रेजीमा culling, जसलाई सामान्य भाषामा हत्या गर्नु पनि भन्न सकिन्छ ) गर्ने भनी लिएको निर्णयबाट पनि उजागर हुन्छ।यी उँट सन् १८४० को दशकमा हजारौँका सङ्ख्यामा तत्कालीन भारत(अहिले पाकिस्तान )बाट अङ्ग्रेजद्वारा मध्य अस्ट्रेलियामा रेल, सडक र आधुनिक बस्ती विस्तार गर्न ल्याइएका पुर्खाका सन्तान हुन्। जब रेल र सडक बने, ती काम नलाग्ने ठहरिए। तिनलाई धमाधम मार्ने आदेश दिइयो। उँटसँगै आएका भारतीय माहुतेहरूलाई त्यो अकल्पनीय कुरा थियो। तिनले आफ्ना प्यारा प्राणीहरूलाई त्यहाँको मरुभूमिमा खुला छाडिदिए। हरेक नौ वर्षमा तिनको सङ्ख्या दोहोरिँदै जान थाल्यो। अहिले ती जङ्गली उँटको सङ्ख्या दशदेखि बीस लाख रहेको मानिन्छ। अहिले तिनीमाथि अरू प्राणीमाथि वातावरणीय खतरा निम्त्याएको, दुर्लभ खानेपानीको स्रोत मासेको, पानी खोज्दै बस्ती पसेको र व्यावसायिक फार्मको तार बार भत्काई नोक्सान गराएको आरोप छ।

Image may contain: outdoor

अस्ट्रेलियामा जङ्गली उँट देख्यो कि गोली हान्ने नीति लागु भएको वर्षौँ भइसक्यो। तिनको प्राण एक वा दुई गोलीले पनि कतिपय अवस्थामा हर्न सक्दैन। धेरै बेरसम्म पीडा खपेर यी बलिया जीवले मर्नु परिरहेको हुन्छ। ती मारेर वा मर्नलाई त्यत्तिकै छाडिन्छन्। कुनै किसिमको व्यावसायिक उपयोगको नीति अपनाउने कष्ट धेरै कमले मात्र गर्ने गरेको पाइन्छ जबकि विश्व बजारमा तिनको मासु, दूध र मनोरञ्जनात्मक उपयोगको दृष्टिले धेरै मूल्य रहेको छ। आन्तरिक बजारमा अन्य खाले माछामासु उद्योगको लब्बिईंगको कारण उँटको व्यवस्थापन यस्तो लथालिङ्ग भएको जानकारहरू बताउँछन्। जे होस् आर्थिक आयामले तिनको अस्तित्व तुच्छ मानिएको छ। पियानोदेखि घर बनाउने पिलरसम्म बोकेको इतिहास भएका यी जीव आज उन्मुलन गर्नुपर्ने कीटसरह मानिनु केवल बजारवादी एकपक्षीय हेराईको नतिजा हो भन्दा गलत नहोला। अझ कतिपय मिडियामा “१० लाख सास फेरिरहेका उँट ४ लाख कार सडकमा गुड्नु प्रदूषणकारी हुन्” भन्नेखाले निर्दयी तर्क गरी जथाभाबी मार्नुलाई तार्किकताको खोल ओढाएको देख्दा अचम्म लाग्छ। यस्तो लाग्छ मानौँ त्यहाँको अर्थतन्त्रमा पेट्रोलियमको प्रयोग दिनानुदिन बढिरहेको छैन र केवल उँट मारे हरितगृह प्रभाव घटिहाल्छ।

यो प्रकरणबाट पनि हाम्रो वातावरणीय नैतिकताबारे पुन:विचार गर्नुपर्ने अपरिहार्यता टड्कारो देखिएको छ, पृथ्वीको हरेक कुनामा।