समाचार

मध्यपूर्वमा भइरहेको संकटप्रति सरकारको ध्यानाकर्षण गराउदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले त्यस क्षेत्रमा रहेका नेपालीको हितमा अहिलेदेखि नै आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टीले जनाएको छ ।

बैठकमा पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाको विषयमा छलफल गरिएको छ । यसैबीच पार्टीले पृथ्वी जयन्तीका दिन यही पुस २७ गते नेपाल पुलिस क्लबमा आयोजना गर्ने शुभकामना तथा चियापान कार्यक्रमका लागि १० हजार निमन्त्रणापत्र वितरण गरेको छ ।

कार्यक्रममा सहभागी हुन विशिष्ट व्यक्ति, विभिन्न राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा अतिथिलाई निमन्त्रणा गरिएको छ । सोही दिन पार्टीको कला, साहित्य विभागले कविगोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्ने छ भने पुस २८ गते सम्पूर्ण भातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ ।