पत्रपत्रिका

मध्यपुर्वको युद्धले लाखौं नेपाली प्रभावीतः खाडी मुलुकबाट आउने रेमिट्यान्स घट्ने

एजन्सी । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ ।

मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ । बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, संस्कृति तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारी सहभागी थिए ।

नेपाल सरकार पछिल्लो परिस्थितिपछि सतर्क अवस्थामा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । ‘अहिलेसम्म परिस्थिति बिग्रिसकेको छैन । आवश्यक परे नेपाली नागरिकको उद्धार गर्न तत्पर अवस्थामा हामी छौँ,’ उनले भने । इराकमा रहेका नेपाली कामदारलाई विमान चार्टर्ड गरेरै उद्धार गर्ने तयारीका लागि पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

त्यसको विकल्पमा सरकारले इराकमा रहेका कामदारलई समुद्री मार्ग हुँदै भारत वा साउदी अरबसम्म ल्याउने, भारतसम्म ल्याइएका कामदारलाई बसबाट र साउदी अरबसम्म ल्याइएका कामदारलाई जहाजबाट उद्धार गर्ने गरी योजना बनाएको छ । बैठकले खाडी मुलुकको परिस्थिति र नेपालीको सुरक्षा अवस्था विश्लेषण गर्न परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा अन्तर्निकाय समन्वय समिति गठन गरेको छ ।

हालसम्म इराकमा युद्धको प्रभाव नपरे पनि सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले खाडी क्षेत्रका सबै राजदूतावासलाई समेत सतर्क रहन निर्देशन दिने पनि निर्णय भएको छ । बैठकले सम्बन्धित मुलुकको पछिल्लो विकासक्रमको अध्ययन गर्ने र नियमित रिपोर्टिङ गर्ने, नेपालीसँग निकट सम्पर्कमा रहने, उनीहरूलाई पनि दूतावासको सम्पर्कमा रहन आग्रह गर्ने र अतिआवश्यकबाहेकको अवस्थामा बाहिर हिँडडुल नगर्न आग्रह गर्ने दूतावासहरूलाई तीनबुँदे सर्कुलर जारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आपत्कालीन अवस्थामा खाडी क्षेत्रमा कार्यरत नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा समन्वय समिति गठन गरेको बताए । ‘इरान र अमेरिकाबीच युद्ध हुने अवस्थामा खाडी मुलुकमा रहेका नेपाली कामदार असुरक्षित हुन सक्छन् । त्यसलाई मध्यनजर गरेर हामीले सबै तयारी गरेका छौँ । आवश्यक पर्दा जुनसुकै वेला उद्धार गर्न सकिने संयन्त्र बनाउँदै छौँ, त्यो सरकारको दायित्व हो,’ उनले भने ।

इराकमा रोजगारीका लागि सरकारले अनुमति दिएको छैन । तर, गैरकानुनी प्रक्रियाबाट नेपालीहरू इराक पुगेका छन् । श्रममन्त्री रामेश्वर राय यादवका अनुसार करिब २० हजार नेपाली इराकमा छन् । ‘वैदेशिक रोजगार विभागलाई कामदारको तथ्यांक संकलन गर्न निर्देशन दिएको छु । जसरी गएका भए पनि नेपाली नागरिकको उद्धार गर्नु सरकारको दायित्व हो,’ यादवले भने ।

इराकमा नेपाली कूटनीतिक नियोग नभएकाले कुवेतस्थित राजदूतावासले नै इराक हेरिरहेको छ । ‘इराकमा रहेका नेपालीसँग हामीले सम्पर्क गरिरहेका छौँ । उनीहरू पर्ख र हेरको अवस्थामा छन् । कामदारलाई कम्पनीले सूचित गरेको छ । तर, अहिले नै डराइहाल्ने अवस्था नरहेको नेपाली कामदारले जानकारी गराएका छन्,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले टेलिफोनमा भने ।

अमेरिका र इरानबीचको तनावले मध्यपूर्वी क्षेत्र (पश्चिम एसिया) प्रभावित छ । नेपाली दूतावासहरूका अनुसार खाडी क्षेत्रमा रहेका नेपाली कामदार हालसम्म सुरक्षित छन् । अमेरिका र इराकबीचको तनावले इराकको छिमेकी साउदी अरबमा रहेका नेपाली कामदार प्रभावित नभएको त्यहाँस्थित दूतावासले जनाएको छ । ‘इराकको तनावले साउदीमा अहिलेसम्म कुनै असर गरेको छैन ।

यद्यपि हामी सतर्क छौँ । अहिले हतोत्साही हुनुपर्ने अवस्था छैन,’ साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले भने । कतारमा पनि कामदारलाई असर नपरेको नेपाली राजदूतावासले बताएको छ । कुवेतमा पनि प्रभाव नपारेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । ‘कामदारसँग हामी निरन्तर सम्पर्कमा छौँ । अवस्था सामान्य छ,’ उनले भने । ओमानमा पनि नेपालीको अवस्था सामान्य छ । संयुक्त अरब इमिरेट्स, बहराइनमा पनि नेपाली असुरक्षित महसुस गरेका छैनन् ।

वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली कामदारमध्ये ९० प्रतिशत खाडी क्षेत्रमा छन् । त्यसो हुँदा इराक र अमेरिका युद्ध चर्कियो भने नेपाली अर्थतन्त्र प्रभावित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनका अनुसार नेपाल भित्रने कुल रेमिट्यान्समध्ये ५० प्रतिशत हिस्सा खाडी मुलुकको छ । कामदार फर्कनबित्तिकै रेमिट्यान्स आप्रवाहमा आधाले घट्ने उनले बताए । ‘रेमिट्यान्स घट्दा सामाजिक आर्थिक सूचक पूर्णरूपमा प्रभावित हुन्छ । उपभोगमा कमी आउने, आयात रोकिने, निर्माण कार्य प्रभावित हुनेछ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यदि इराक युद्ध चर्किने हो भने ४ खर्बभन्दा बढी रेमिट्यान्स गुम्नेछ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आवको पछिल्लो दुई महिनामा मात्रै खाडीका मुख्य ८ वटा मुलुकबाट ५४ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएको छ । साउदीबाट १५ अर्ब ८३ करोड, कुवेतबाट ३ अर्ब ४ करोड, कतारबाट १८ अर्ब ५५ करोड, युएईबाट १५ अर्ब ९९ करोड, जोर्डनबाट २३ करोड २५ लाख, इजरायलबाट ११ करोड ८३ लाख, ओमानबाट ९९ करोड ७७ लाख र इराकबाट ११ करोड ५६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

युद्धका कारण सबै कामदार एकैपटक नेपाल फर्कनुपर्ने अवस्था सिर्जना भएका नेपालका लागि चुनौतीपूर्ण हुने श्रममन्त्री यादवले बताए । ‘नेपालमा अहिले पनि ११।४ प्रतिशत बेरोजगारी छ । यस अवस्थामा एकसाथ कामदार फर्कंदा रोजगारी सिर्जना गर्न मुलकलाई चुनौतीपूर्ण हुनेछ,’ उनले भने । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०७५र७६ मा पाँच लाख आठ हजार आठ सय २८ कामदार रोजगारीका लागि विदेश गएका छन्  ।

तर, अहिले कति कामदार विदेशमा कार्यरत छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । सरकारले श्रम स्वीकृति लिएर गएका कामदारको तथ्यांक राखे पनि फर्कने कामदारको तथ्यांक सरकारसँग छैन । यसबाहेक गैरकानुनी रूपमा विदेश गएका कामदारको रेकर्ड सरकारसँग छैन । सम्बन्धित मुलुकको राजदूतावासको तथ्यांकअनुसार खाडी क्षेत्रका ८ मुलुकमा मात्रै करिब ११ लाख नेपाली कामदार कार्यरत छन् ।

साउदी दूतावासका अनुसार साउदीमा हाल करिब तीन लाख ५० हजार नेपाली कामदार छन् । त्यस्तै, कतारमा तीन लाख ४१ हजार नेपाली छन् । कुवेतमा ७० हजार, युएईमा दुई लाख ५० हजार, जोर्डनमा ३० हजार, इजरायलमा २५ हजार, ओमानमा १५ हजार र इराकमा पनि २० हजारजति कामदार रहेको अुनमान छ ।

अर्थतन्त्र प्रभावित हुन्छः गुणाकर भट्ट

युद्ध हुने अवस्थामा खाडी मुलुकबाट नेपालमा रेमिट्यान्स आप्रवाह आधाले घट्न सक्नेछ । त्यो अवस्थामा नेपालको सामाजिक आर्थिक सूचक सबैभन्दा बढी प्रभावित हुनेछ । तर, यसलाई सरकारले अवसरका रूपमा पनि लिन सक्नुपर्छ । कामदार फर्केको अवस्थामा उनीहरूलाई मुलुकभित्रै रोजगारीमा लगाउन सक्नुपर्छ ।

यस्तै इराकमा रहेका कामदारको उद्धारका लागि हामी तयारी अवस्थामा छौँ । आवश्यकता परे कुनै पनि समयमा हामी उद्धार कार्यमा खटिन सक्छौँ । मन्त्रालयको निर्देशनअनुसार हामीले आन्तरिक तयारी सुरु गरेका छौँ ।

खाडीबाटै भित्रन्छ आधा रेमिट्यान्स
सम्बन्धित मुलुकको राजदूतावासको तथ्यांकअनुसार खाडी क्षेत्रका आठ मुलुकमा मात्रै करिब ११ लाख नेपाली कामदार कार्यरत छन् । वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली कामदारमध्ये ९० प्रतिशत खाडी क्षेत्रमा छन् ।

इराक र अमेरिका युद्ध चर्कियो भने नेपाली अर्थतन्त्र प्रभावित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनका अनुसार नेपाल भित्रने कुल रेमिट्यान्समध्ये ५० प्रतिशत हिस्सा खाडी मुलुकको छ । कामदार फर्कनबित्तिकै रेमिट्यान्स आप्रवाहमा आधाले घट्ने उनले बताए । ‘रेमिट्यान्स घट्दा सामाजिक आर्थिक सूचक पूर्ण रूपमा प्रभावित हुन्छ । उपभोगमा कमी आउने, आयात रोकिने, निर्माण कार्य प्रभावित हुनेछ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यदि इराक युद्ध चर्किने हो भने चार खर्बभन्दा बढी रेमिट्यान्स गुम्नेछ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आवको पछिल्लो दुई महिनामा मात्रै खाडीका मुख्य आठवटा मुलुकबाट ५४ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएको छ ।

साउदीबाट १५ अर्ब ८३ करोड, कुवेतबाट तीन अर्ब चार करोड, कतारबाट १८ अर्ब ५५ करोड, युएईबाट १५ अर्ब ९९ करोड, जोर्डनबाट २३ करोड २५ लाख, इजरायलबाट ११ करोड ८३ लाख, ओमनबाट ९९ करोड ७७ लाख र इराकबाट ११ करोड ५६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

युद्धका कारण सबै कामदार एकैपटक नेपाल फर्कनुपर्ने अवस्था सिर्जना भएका नेपालका लागि चुनौतीपूर्ण हुने श्रममन्त्री यादवले बताए । ‘नेपालमा अहिले पनि ११।४ प्रतिशत बेरोजगारी छ । यस अवस्थामा एकसाथ कामदार फर्कंदा रोजगारी सिर्जना गर्न मुलकलाई चुनौतीपूर्ण हुनेछ,’ उनले भने ।

 

                                  नयाँ पत्रिकाबाट लिएको