शिक्षा

सरसफाइमा अब्बल भूमे आधारभूत विद्यालय

चिप्लेढुङ्गा । कास्कीको उत्तरपश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भूमे आधारभूत विद्यालयल सरसफाइमा उत्कृष्ठ भएको छ । सरसफाइमा अब्बल काम गरेबापत कोरियाको ‘बुद्धिष्ट इन्भारोमेन्टल सोलिडारिटी’ नामक संस्थाले सो विद्यालयलाई ५०० डलर अमेरिकी डलर अर्थात् करिब रु ५७ हजार नगदसहित कदरपत्रले सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घप्रसाद शेरचन र प्रधानाध्यापक तेजप्रसाद शर्मालाई कोरियन प्रोफेसनल आट्रिष्ट एशोसिएशनका अध्यक्ष किम मिनडो र प्राध्यापक लिजोङ केले कदरपत्र र नगद प्रदान गरे । किम मिनडोले कोरियादेखि नेपालसम्म आएर विद्यालयमै सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले पढ्नु लेख्नुसँगै अतिरिक्त क्रियाकलापमा हिमालय क्षेत्र र समुदाय सरसफाइका लागि विद्यार्थीले खेलेको भूमिका प्रशंसनीय भएकाले विद्यार्थीको काम विश्वस्तरमै छनोटमा परेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घप्रसाद शेरचनले आफ्नो विद्यालय अन्तरराष्ट्रियस्तरमा सरसफाइमा छनोट हुँदा खुशी लागेको बताए । प्रधानाध्यापक तेजप्रसाद शर्माले विद्यार्थीको कामले अभिभावक र समुदायलाई नै प्रभाव पारेको हुँदा प्राप्त सहयोगबाट विद्यालय परिसरमा बगैँचा र चौतारी बनाउने बताए ।

विसं २०२४ मा स्थापित सुदामेको भूमे आधारभूत विद्यालय अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गमा पर्छ । ७५ विद्यार्थीले पानीको बोटलभित्र प्लाष्टिक र फोहरमैला सङ्कलन गरी फोहर व्यवस्थापनको नमूनायोग्य काम गरेका थिए । गतवर्ष संरक्षण शिक्षा अधिकृत श्याम गुरुङले प्लास्टिकजन्य फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने तालीमदिएको थियो ।