अन्तर्राष्ट्रिय

पछिल्ला ३० वर्षमा विश्वभरको सडक दुर्घटना दरमा वृद्धि, मृत्युदर कम

एजेन्सी । विश्वमा सडक दुर्घटनामा वृद्धि भएको तर सडक दुर्घटनाबाट हुने मृत्यु दरमा भने कमी आएको बिहीबार सार्वजनिक विश्वमा घाइते तथा मृत्यु विश्लेषण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तथ्याङ्कको पूर्णताका हिसाबले सन् २०१७ लाई पछिल्लो नमूना वर्ष बनाइएको स्वास्थ्य तथ्याङ्क तथा मुल्याङ्कन (आईएचएमई) ले जनाएको छ । संस्थाका अनुसार विश्वमा सडक दुर्घटनाका कारण उक्त वर्ष १२ लाख व्यक्तिको मृत्यु भएको थियो भने ५ करोड ४० लाख व्यक्ति घाइते भएका थिए ।

अध्ययनले दुर्घटनामा घाइते हुने पुरूष २५–२९ वर्ष उमेर समूहका रहेका छन् तर सडक दुर्घटनामा सोही उमेरका महिलाको मृत्युदर पुरूषको तुलनामा दोब्बर रहेको पनि तथ्याङ्कले देखाएको छ ।

सन् १९९० पछि विश्वमा कार दुर्घटनामा कारण ज्यान गुमाउनेको सङ्ख्या पहिलेको तुलनामा घटेको पाइएको छ तर खासगरी मध्य अफ्रिकी गणतन्त्र, जमैका, सोमालिया, स्वाजिल्याण्ड र संयुक्त अरब ईमिरेट्स (यूएई)मा भने यो सङ्ख्यामा वृद्धि भएको छ ।

आईएचएमईका वरिष्ठ लेखक स्पेन्सर जेम्सले भने, “सवारी साधनमा गरिएको सुरक्षा व्यवस्था, सडक सुरक्षा, गति नियन्त्रण, सीटवेल्ट र मादक पदार्थ सेवनमा विश्वभर गरिएको कडाइ लगायतका केही कारणले विश्वमा सडक दुर्घटनाबाट हुने मृत्यु दरलाई कम गर्न योगदान पु¥याएको देखिन्छ ।”

उनले भने, “पछिल्ला तीन दशकमा विश्वव्यापीरूपमा सडक दुर्घटनाका कारण हुने मृत्यु सङ्ख्यामा सुधार देखिएको छ । यद्यपि सडक दुर्घटनामा चोटपटक रोकथामका लागि अझै प्रयाप्त प्रगति भएको भने मान्न सकिँदैन । थप सुधार गर्ने ठाउँहरू व्यापक रहेका छन् ।”

विश्वव्यापी रूपमा सबै उमेर समूहमा सडक दुर्घटनाबाट हुने चोटपटकमा सन् १९९० देखि २०१७ को बीचमा १५ प्रतिशतभन्दा बढी रहेको छ ।

बिएमजे इन्ज्वेरी प्रिभेन्सन पत्रिकामा प्रकाशित आईएचआईको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट हुने घाइतेको सङ्ख्यामा सबैभन्दा बढी हाइटीमा १५.६ प्रतिशत रहेको छ भने दोस्रोमा मध्य अफ्रिकामा १०.४ प्रतिशत र तेस्रोमा अल साल्भाडोरमा ७.३ प्रतिशत रहेको देखिएको छ ।

त्यस्तै विश्वमा सडक दुर्घटनाबाट सबैभन्दा बढी ज्यान गुमाउने नागरिक चिनियाँ रहेका र सन् २०१७ मा त्यहाँ कुल दुई लाख ६१ हजार व्यक्तिले ज्यान गुमाएका थिए । तर प्रतिव्यक्ति सडक दुर्घटना दर भने चीनमा कम रहेको देखिएको छ ।