समाचार

२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रूपमा मनाइने

भक्तपुर । २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ । आगामी माघ २ गते भक्तपुर दरबारस्क्वायरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिको सहभागितामा भव्य रूपमा दिवस मनाउने निर्णय गरी तयारी शुरु गरेको दिवस व्यवस्थापन उपसमितिले जनाएको छ ।

गृह मन्त्रालयको निर्णयबमोजिम भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा दिवस मनाउने तयारी शुरु गरेको नगरपालिकाका प्रमुख एवं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक सुनिल प्रजापतिले जानकारी दिए ।

उक्त दिवस मनाउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मूलसमारोह समिति र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा उपसमिति गठन भएअनुसार उपसमितिले भव्य रूपमा दिवस मनाउने गरी तयारी शुरु गरेको हो । दिवसको अवसरमा माघ २ गते दिउँसो १२ बजेबाट भक्तपुरका दुई स्थान भनपा १० लामगाल पुखु र भाज्या पुखुबाट एकैसाथ सचेतना ¥याली निकाल्ने भएको छ ।

दुवै ¥यालीमा ब्याण्ड बाजासहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, विद्यार्थी, स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतको सहभागिता रहने भएको छ भने भक्तपुरको कला र संस्कृति झल्कने पोशाकमा साँस्कृतिक समूह, धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याखँलगायत सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । नेपालमा २ माघ १९९० मा गएको भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।